वाइसीएल विधानमा सचिव थपलियाको १० बुँदे संशोधन प्रस्ताव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल, नेपाल) को तेस्रो राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि केन्द्रीय सचिव तथा बागमती प्रदेश सह-इन्चार्ज दिनेश थपलिया ‘आक्रोश’ले १० बुँदे प्रस्ताव दर्ता गराएका छन्।

विधान संशोधनको प्रस्तावमा संगठनात्मक सुधार, नेतृत्वको समय सीमा, संरचना र प्रविधिको प्रयोगलगायतका विषयहरू समेटिएका छन्। उनका अनुसार, अबको वाइसीएलले नयाँ संरचना, स्पष्ट जिम्मेवारी र समसामयिक माग अनुसार परिवर्तनको बाटो समात्नुपर्छ।

प्रस्ताव अनुसार संसाेधन गर्नुपर्ने प्रमुख बुँदाहरू निम्न छन्:

* कार्यकालबारे : अध्यक्षको कार्यकाल १ वर्ष गर्नुपर्ने उनको प्रस्ताव छ । यसले नेतृत्वमा नयाँ ऊर्जा र विचार प्रवाह गर्न मद्दत गर्ने उनी बताउँछन् । “छोटो कार्यकालले अध्यक्षलाई थप सक्रिय र जवाफदेही बनाउँछ, जसले गर्दा सङ्गठनमा गतिशीलता बढ्छ।” उनले भने ।

त्यसैगरी उनले पदाधिकारीले सोही पदमा दोहोर्याउन नपाउने प्रस्ताव गरेका छन् ।यो प्रावधानले सङ्गठनभित्र ‘सिन्डिकेट’ वा ‘गुटबन्दी’ लाई निरुत्साहित गर्छ र नयाँ व्यक्तिहरूलाई अवसर प्रदान गर्ने उनको भनाइ छ ।

सचिव थपलियाले केन्द्रीय कमिटीको पद २ कार्यकालभन्दा लामो गर्नु नहुनेमा पनि जोड दिएका छन् । यसले केन्द्रीय कमिटीमा अनुभव र नयाँपनको सन्तुलन कायम गर्ने उनको दावी छ ।

दुई कार्यकालले एउटै व्यक्तिलाई सङ्गठनमा योगदान गर्न पर्याप्त समय दिने र सधै कमोटीमा झुण्डिरहने प्रवृत्तिलाई रोक्ने उनले तर्क गरेका छन् ।

 नेतृत्व विकास गर्दै जानका यी प्रावधान अनिवार्य भएको सचिव आक्रोशको भनाइ छ ।

* स्वत: आयोजक समिति : उनले कार्यकाल सकिएर सम्मेलन नहुँदा कार्यसमिति स्वत: आयोजक समिति हुनुपर्ने र त्यसले संयोजक तोकी सम्मेलन सम्पन्न गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

यसले सम्मेलन नगरी पद ओगटीरहने अवस्था अन्त्य गर्न सहयोग पुग्ने उनले प्रष्ट पारे ।

* निर्वाचन प्रणालीमा सुधार : उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका छन् । यसले सङ्गठनमा लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँने र अदृश्य चलखेल बन्द हुने उनी बताउँछन् ।

“आफ्नो नेतृत्व आफैँ चुन्न पाउँदा नेतृत्वप्रति अपनत्व बढ्छ र जवाफदेहिता सुनिश्चित हुन्छ।” उनले भने, “यसले सङ्गठनलाई थप पारदर्शी र जनमुखी बनाउँछ।”

* उमेर सीमामा लचकता : वाईसीएल युवाहरूको सङ्गठन भए पनि, उमेर सीमा खुला गर्दा विभिन्न अनुभव र पुस्ताका व्यक्तिहरूलाई समेट्न सकिने उनको तर्क छ ।

उमेर भन्दा बिचार र योगदान गर्ने हुटहुटी महत्वपूर्ण भएको भन्दै उनले  यसले सङ्गठनको बौद्धिक र कार्यगत क्षमतालाई अझ फराकिलो दायरामा लैजाने दावी गरे ।

“वाइसीएल युवा संगठन मात्र नभई पार्टीको सहायक संगठन भएकोले पनि उमेर हदको ब्यवस्था हुनुहुदैन ।” उनले भने ।

* समितिमा स्पष्ट जिम्मेवारी, बाहिरीँदा सम्मानजनक बहिर्गमन : सचिव थपलियाले पदीय जिम्मेवारीबाट बाहिरीँदा पनि संगठनले त्यस्ता नेताहरूलाई सम्पत्तिको रुपमा ग्रहण गरी वरिपरि रहने वातावरण निर्माणमा जोड दिएका छन् । पद छोड्ना साथ बिरानो जस्तो बन्ने बनाइने प्रवित्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

साथै, संगठनबाट बाहिरिँदा पार्टीमा उपयुक्त भूमिकाको सुनिश्चितता हुनुपर्ने र त्यसका लागि संयन्त्र बनाइनुपर्ने उनको प्रस्ताव छ ।

त्यस्तै उनले पदमा रहँदा पनि जिम्मेवार बिहीनताको अवस्था अन्त्य गर्न बिधानमै स्पष्ट अधिकारसहित काम कर्तब्य उल्लेख गर्नुपर्ने माग गरेका छन् । जिम्मेवारी निर्धारण प्रणालीको पुनर्संरचनामा उनको जोड छ ।

* डिजिटल युग सुहाउँदो वाइसीएल : नेतृत्व डिजिटल युग सुहाउँदो हुनुपर्नेमा उनको जोड छ । डिजिटल साक्षर मात्र नभई पोख्त बनाउन आवश्यक तालिममा उनले जोड दिएका छन् । साथै, वाइसीएलको गतिविधिमा पनि डिजिटल माध्यमको प्रयोगमा बिधानत: ब्यवस्था गर्नुपर्ने उनले बताएका छन् ।

सचिव थपलियाले बिचार मिल्ने अन्तर्राष्ट्रिय संगठनसंग भाइचारा सम्बन्ध बिकास गर्ने देखि अन्तर्राष्ट्रिय फोरमहरुमा सहभागिता जनाउने विषयमा पनि बिधानले स्पष्ट बोल्नुपर्ने प्रस्ताव गरेका छन् ।

* नवप्रवेशीबारे बिधानमै स्पष्ट ब्यवस्था :  उनले नवप्रवेशीहरुलाई प्रशिक्षण नीति स्पष्ट हुनुपर्ने र आउना साथ पद पाइहाल्ने प्रवित्ति अन्त्य गरी राजनीतिक बैचारिक परिपक्वतापछि मात्र पद दिने मापदण्ड ल्याउन माग गरेका छन् ।

“यसको मतलव कसैलाई रोक्ने भन्ने होइन, पदमा बहाल भएपनि छ महिनापछि कार्यान्वयन हुने ब्यवस्था गर्न सकिन्छ ।” थपलियाले भने, “त्यस अवधीमा प्रशिक्षित गर्नपर्यो ।” 

*बिधान सम्मेलनलाई बैज्ञानिक बनाउनुपर्ने : संगठनका लागि बिधान अनिवार्य भएको भन्दै उनले महाधिवेशनको एक महिना अघि नै बिधान सम्मेलन गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

बिधान संंसाेधनलाई कर्मकाण्डी बनाई हतारमा र हचुवामा निर्णय गर्नुभन्दा प्रसस्त समय लिएर ब्यापक छलफल र निष्कर्षसहित निर्णयमा पुग्नुपर्ने उनले स्पष्ट पारे ।

यी प्रस्तावहरूले वाईसीएललाई बलियो, जीवन्त र जनमुखी सङ्गठन बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास गरिएको छ । यदि वाईसीएललाई साँच्चै बलियो बनाउने हो भने, यो प्रस्ताव पारित गरेर कार्यान्वयनमा ल्याउनु अपरिहार्य भएको सचिव थपलियाले दावी गरेका छन् ।

सचिव थपलियाले भनेका छन्, “युवाशक्ति अब व्यवस्थित, अनुशासित र वैचारिक रूपमा दृढ ढाँचामा अघि बढ्नुपर्छ। विधान संशोधन नै त्यसको मुख्य आधार हो।” 

जनयुद्धको बिरासतबाट आएका नेता थपलिया वाइसीएलका जुझारु नेता हुन् । सम्मेलन प्रतिनिधिले उनको प्रस्तावमा कस्तो प्रतिक्रिया देखाउछन् त्यो भन्ने हेर्न बाकी छ । उनी भने आफ्नो माग बहुमत सदस्यको बोली भएको भन्दै विधान संसोधनको प्रस्तावमा सहमति जुट्नेमा आशाबादी देखिन्छन् ।

“सम्मेलनमा यी प्रस्तावमाथि छलफल भई पारित हुने अपेक्षा गरेको छु।” उनले भने ।

वाइसीएलको राष्टिय सम्मेलन काठमाडौस्थित प्रज्ञा भवनमा आज आइतबार उद्घाटन भई दुई दिन चल्ने कार्यतालिका छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।