श्रम र उत्पादनमा वाइसिएल अभियान शुरु, प्रचण्डको यस्तो निर्देशन

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीस्थित सुनाकोठी चौरमा आयोजित कार्यक्रममा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन गरेका छन्।

कार्यक्रममा प्रचण्डले युवासँगै इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने र चौर सफा गर्ने काममा सहभागी हुँदै अभियानको बिहीबार औपचारिक उद्घाटन गरे।

अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको “उत्पादन ब्रिगेड”को निरन्तरता भएको बताए।

केन्द्रीय समिति गठनपछिको पहिलो पदाधिकारी बैठकमा पार्टी र वाइसिएलले उत्पादन र अर्थतन्त्र निर्माणमा अगुवाइ गर्नुपर्ने निर्देशन दिएको भन्दै उनले त्यसैअनुसार देशभर यस्ता कार्यक्रम अघि बढाइएको बताए ।

यसलाई माओवादी आन्दोलनसंग जोड्दै उनले भने, “यो श्रम र उत्पादन अभियान हाम्रो वैचारिक र व्यवहारिक आन्दोलनसँग जोडिएको छ।”

प्रचण्डले युवालाई उत्पादन, समृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अगाडि बढ्न आह्वान गरे।

भ्रष्टाचारको विषयमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारलाई चेतावनी दिदै भने, “यसरी नै सरकार भ्रष्टाचारमा लिप्त रहिरह्यो भने सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने स्थिति आउन सक्छ।”

उनले सडकबाट भ्रष्टाचार बिरुद्ध जाइलाग्न युवाहरूलाई निर्देशन समेत दिए।

कार्यक्रममा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा दीपशिखा, पार्टीका केन्द्रीय सदस्यहरु हरि दाहाल, राजकाजि महर्जन, साबित्री काफ्ले, दिनेश महर्जन, उर्मिला लामा, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री आतिथ्यता रहेको वाइसीएल अध्यक्ष  पुस्प ओलीले जनाएका छन् । 

सो अवसरमा वाइसीएलका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वाइसिएल नेपालले देशभर ५५ स्थानबाट एकैसाथ अभियान शुभारम्भ गरेको केन्द्रीय सदस्य सरराज उप्रेतीले जानकारी गराए ।