ट्रकमा करेन्ट लाग्दा सहचालकको निधन

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र विद्युतीय करेन्ट लागेर ट्रकका सहचालकको ज्यान गएको छ भने चालकसहित तीनजना घाइते भएका छन्।

बिहीबार बिहान अन्दाजी पौने ७ बजेको समयमा रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा करेन्ट लागेको थियो।

करेन्ट लागेर ट्रकमा रहेका सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले बताए। करेन्ट लागेर चालक र अन्य दुई कामदारहरु पनि घाईते भएका बताइएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरुलाई तत्कालै उपचारको लागि नमुना अस्पताल, हरिवन पठाएको थियो।

घटनामा ट्रकका सहचालक पासवानको उपचारको क्रममा बिहान नमुना अस्पताल हरिवनमा निधन भएको प्रहरीको भनाइ छ ।

त्यस्तै, सोही ट्रकमा काम गर्दै आएका २५ वर्षीय कुन्दन पासवान र  ४० वर्षीय जागेश्वर पासवान दुवै हात र खुट्टामा करेन्ट लागेको अवस्थामा उपचाररत छन्। उनीहरुको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। ट्रक चालक वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमद पनि हाल उपचारमा छन् ।