विपद न्यूनीकरण र ब्यवस्थापन दुवैमा वाइसीएल बागमतीको पहल

Ycl Gajuri
Ycl Gajuri

काठमाडौ । वाइसीएल नेपाल गजुरी गाउँपालिका समिति, धादिङद्वारा आयोजित बृहत वृक्षारोपण कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार सो बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको उपस्थिति थियो।

कार्यक्रममा वाइसीएल केन्द्रीय सदस्य सन्तोष अधिकारी, वाइसीएल धादिङ जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) लगायतको विशेष आतिथ्य रहेको बताइएको छ ।

वाइसीएल गजुरी गाउँपालिका अध्यक्ष दिवाकर श्रेष्ठका अनुसार कार्यक्रममा दुई सयभन्दा बढी बिरुवा रोपिएको छ।

Ycl Gajuri
Ycl Gajuri

उक्त वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा योगदान पुग्नुका साथै जलवायु परिवर्तन र बाढीपहिरोको जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने वाइसीएल बागमती प्रदेश अध्यक्ष नरेश रन्जितले बताए।

यसैगरी, शनिवार नै वाइसीएल नेपाल भक्तपुर जिल्ला समितिद्वारा सम्भावित विपद् व्यवस्थापनको तयारीस्वरूप त्रिपाल हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

वाइसीएल बागमती प्रदेश अन्तर्गतको विपद् व्यवस्थापन पूर्वतयारी अभियानका लागि भक्तपुर जिल्ला समितिको संयोजनमा करिब एक सय त्रिपाल वाइसीएलको बागमती प्रदेश अध्यक्ष नरेश रन्जितलाई हस्तान्तरण गरिएको हो।

Ycl Bhaktapur
Ycl Bhaktapur

वाइसीएल भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र सुवालले त्रिपाल हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

सो कार्यक्रममा वाइसीएलका केन्द्रीय सदस्यहरू राजु कुटु, सरराज उप्रेती र रोशन बासुकलाका साथै जिल्लाका पदाधिकारीको पनि उपस्थिति रहेको थियो।

वाइसीएल भक्तपुरले सम्भावित विपद्को राहत तयारीमा टेवा पुर्‍याउने उद्देश्यले राहत सामग्री हस्तान्तरण गरिएको जानकारी दिएको छ।

यसलाई सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सकारात्मक पहलका रूपमा वाइसीएल बागमती प्रदेश अध्यक्ष नरेश रन्जितले व्याख्या गरे।

उनले वाइसीएलका जिल्ला तथा नगर समितिहरू सामाजिक सेवामा सक्रिय हुनु सुखद् पक्ष भएको बताए । “गजुरीको कामले विपद न्यूनीकरणमा योगदान दिएको छ भने भक्तपुरले सम्भावित विपद ब्यवस्थापनमा सहयोग पुर्याएको छ ।” प्रदेश अध्यक्ष रन्जितले प्रष्ट पारे ।

वाइसीएलको वास्तविक उद्देश्य जनसेवा नै भएको प्रष्ट पार्दै उनले विपद न्यूनीकरण र सम्भावित विपद ब्यवस्थापनमा जुट्न मातहतका सबै जिल्ला तथा नगर समितिलाई निर्देशन समेत दिएका छन् ।