काठमाडौं। आरोग्य नेपाल निर्माण गर्ने लक्ष्यसहित सरकार नागरिक आरोग्य सेवालाई स्थानीय तहसम्म पुर्याउन प्रतिवद्ध रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले बताएका छन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक समिक्षा बैठकलाई शनिबार सम्बोधन गर्दै उनले विगतमा तीन लाख रुपैयाँमा सीमित बजेटलाई अहिले पाँच लाख रुपैयाँ पुर्याएर सबै स्थानीय तहमा आयुर्वेद सेवा विस्तार गरिने जानकारी दिए। “गत वर्ष छुटेका कार्यक्रमहरूलाई बजेट थप गरेर निरन्तरता दिनेछौं,” उनले भने, “सूचना प्रणाली अझै कमजोर छ, यसलाई सुधारतर्फ लागेका छौं।”
उपलब्ध सेवाहरूको निर्देशन भए तापनि समयसापेक्ष परिमार्जन आवश्यक रहेकोमा पनि उनले जोड दिए।
सेवाको प्रचारप्रसारमा जोड
आयुर्वेद तथा वैकल्पिक चिकित्सा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले आयुर्वेदको प्रभावकारिता प्रचार गर्न नसक्दा आम नागरिकमा विश्वसनीयता कायम हुन नसकेको बताए। “सेवाको उद्देश्य प्रष्ट हुन जरुरी छ,” उनले भने।
काठमाडौँ जिल्लाका प्रयासहरू
काठमाडौँका आयुर्वेद तथा वैकल्पिक चिकित्सालय प्रमुख डा. रविन भुषालले विगत पाँच वर्षभित्र सेवा विस्तार सन्तोषजनक रहेको जनाए। “हाल १३ स्थानबाट औषधि वितरणसहित सेवा दिइँदैछ,” उनले भने, “तर प्रचारप्रसारमा कमजोरी छ।”
त्रिभुवन विश्वविद्यालयका विषयविज्ञ डा. शिवमंगल साहले राज्यले आयुर्वेदमा लगानी बढाउनुपर्ने बताए।
स्वास्थ्य पहुँच सस्तो हुनुपर्छ
शालक्य चिकित्सा विभागका प्रमुख डा. पुष्पराज पौडेलले आयुर्वेद भविष्यमा सबैभन्दा विश्वासिलो चिकित्सा पद्धति बन्ने दाबी गरे। “कोभिडले सबै सरकारलाई आयुर्वेदतर्फ मोडेको छ,” उनले भने, “स्वास्थ्यमा लगानी बढे पनि सेवाको पहुँच सस्तो हुनुपर्छ, नत्र नागरिकको खर्च बढिरहेको छ।”
उनले आयुर्वेद ऐन अन्तिम मस्यौदामा रहेको र आगामी वर्ष संचार माध्यममार्फत प्रचारप्रसार गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको बताए।
संस्थागत स्थायित्वको आवश्यकता
सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष प्रदीप केसीले नेतृत्व परिवर्तनको अस्थिरता र सरकारको उपेक्षाले आयुर्वेद जस्ता संस्थाहरू संकटमा परेको बताए। “हामी प्राविधिक हौं, काममा विश्वास गर्नुपर्छ,” उनले भने, “संस्थागत स्थायित्व र सेवा प्रभावकारितामा ध्यान दिनुपर्छ।”
बढ्दो रोग जोखिम र आयुर्वेदको विकल्प
गलत खानपान, व्यस्त जीवनशैली र एलोपेथिक उपचारको बढ्दो प्रवृत्तिका कारण नागरिक नसर्ने रोगको जोखिममा छन्। यस परिस्थितिमा आयुर्वेद उत्तम विकल्प हुनसक्ने कार्यक्रमका वक्ताहरूको धारणा थियो।
अभावबीच उपलब्धि
१३ लाखको औषधि खरिद गरिए तापनि वार्षिक आवश्यकताका लागि ४० लाख रुपैयाँ चाहिने डाक्टरहरूले जनाएका छन्। साथै, पञ्चकर्म, प्रयोगशाला, जनशक्ति लगायतका पक्षमा प्रगति कमजोर देखिएको छ।
महत्वपूर्ण उपलब्धिहरू:
विशेषज्ञ आयुर्वेद सेवा
अनेरेस्टल रोग उपचार
CME कक्षा सञ्चालन
व्यवस्थापन समिति सक्रिय बनाउने प्रयास
भान्साघर औषधालय, महिला स्वास्थ्य स्वयंसेविकालाई सचेतना
अकुपञ्चर, फिजियोथेरापी, शल्यकर्म, क्षारसूत्र, अग्निकर्म सेवाहरू
डा. चन्द्रमौली शाहले जिल्लाका ९ चिकित्सालय र आरोग्य केन्द्रहरूले यी सेवा दिइरहेको जानकारी दिए।
पालिका तहका प्रयास
कागेश्वरी मनोहरा, चन्द्रागिरी र मातातिर्थ आयुर्वेद अस्पतालहरूले १२,३७७ जनालाई सेवा दिएको प्रमुख डा. जगदीश्वरी अवस्थीले बताइन्।
बुढानीलकण्ठका प्रमुख कुमार प्रसाद दाहालले बजेट र प्राविधिक अभाव रहेको बताए। “स्थानीय सरकार जटिल छ, इच्छाशक्ति कमजोर छ,” उनले भने, “वडास्तरमै थोरै बजेट छुट्याउँदा पनि नागरिकको पहुँच बढाउन सकिन्छ।”
उत्कृष्ट केन्द्रलाई सम्मान
कार्यक्रममा कौडिन्यायनी कृष्णजंग थापा, दिव्या आचार्य, सन्तोष सापकोटा, राम किशोर साह लगायतले प्रगति प्रतिवेदन प्रस्तुत गरे। उत्कृष्ट सेवा वापत तारकेश्वर आरोग्य केन्द्र र बुढानीलकण्ठ कार्यालयलाई सम्मान गरिएको थियो।
पत्रकारलाई तनाव ब्यवस्थापन
समिक्षा बैठकपछि पत्रकारलाई तनाव ब्यवस्थापनको तालिम दिइएको छ । डा प्रभाकर मनु र डा महेश्वर भट्टले कसरी तनाव ब्यवस्थापन गर्ने भन्ने सिकाएका सहभागी पत्रकार एवं नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार जगत प्रजापतिले जनाएका छन् ।
सो अवसरमा केन्द्र, प्रदेश र जिल्ला शाखाका प्रतिनिधि सहभागी रहेका बताइएको छ ।