आयुर्वेद चिकित्साप्रति बिदेशी पर्यटक आकर्षित

 भक्तपुर । पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो ।

भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बिदेशी पर्यटकहरु उपचारका लागि आउनेगरेका जानकारी गराए । आफू बसेको होटल र गाइडसंग सोधीखोजी गरेरै बिदेशी पर्यटक आयुर्वेद स्वास्थ्य केन्द्र आउने गरेका उनले जनाएका छन् ।

फागुन महिनामा करिब १ दर्जन बिदेशी पर्यटकले आयुर्वेद स्वास्थ्य उपचार सेवा लिईसकेका छन् । आयुर्वेद स्वास्थ्य सेवाबाट सन्तुष्ट रहेको केन्द्रमा भेटिएकी थाइल्याण्डकी एक पर्यटकले बताएकी छन् ।

पछिल्लो समय भक्तपुरमा पनि आयुर्वेद चिकित्सा प्रति बिश्वास बढ्दै गएको छ । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा बिरामीहरुको बिश्वास बढ्न थालेको हो । बाटो पर्दा मात्र पस्ने बिरामी अचेल धाएरै यो सरकारी स्वास्थ्य केन्द्र पुग्न थालेका देखिन्छन् ।

केन्द्रमा पञ्चकर्म/पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर तथा फिजियोथेरापी, अग्निकर्म र बिद्धकर्म लगायतका सेवाहरु नि:शुल्क प्रदान गर्दै आएको छ । केन्द्रले २३ प्रकारका औषधी नि:शुल्क र अन्य आवश्यक औषधीहरु सर्वसुलभ मूल्यमा आफ्नै औषधालयबाट वितरण गर्दै आएको पाइन्छ ।

गत आर्थिक वर्षको भन्दा यस वर्ष केन्द्रमा बिरामीको चाप बढेको केन्द्रले जनाएको छ ।

Loading...