भक्तपुरमा बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु

भक्तपुर । बालबालिकाको शारीरिक र मानसिक विकास तथा रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रम भक्तपुरमा शुरु भएको छ ।

मंगलबार कमलविनायकस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले कार्यक्रमको शुभारम्भ गरेका छन् ।

चिकित्सालयका प्रमुख डा नदन कडेलले जनाए अनुसार स्वर्णबिन्दु प्राशन बच्चाको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने, बुद्धि र स्मरणशक्ति बढाउने, तथा मौसमी रोगहरूबाट जोगाउने प्रभावकारी विधि हो।

पाँच वर्षसम्मका बालबालिकालाई पुष्य नक्षत्रको शुभ साइतमा सुन, मह, अश्वगंधा, शंखपुष्पी र वाचा मिसाइ तयार पारिएको रसायनको थोपा बनाइ खुवाउने कार्यक्रम नै स्वर्णबिन्दु प्राशन कार्यक्रम भएको उनको भनाइ छ ।

Dr Nadan kadel
Dr Nadan kadel

आजबाट शुरु भएको कार्यक्रम प्रत्येक महिनाको एक दिन(पुष्य नक्षत्र परेको दिन) अमृत बेलामा नियमित संचालन गरिने डा कडेलले जानकारी दिए । स्वर्ण प्राशन सेवनले बच्चा बुद्धिमान, बलियो र ऊर्जावान बन्ने उनले बताए ।

एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकालाई स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी गराइने उनले बताएका छन् ।

कार्यक्रम शुभारम्भ गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले रोग लाग्नै नदिन र लागिहाले जरैदेखि निर्मूल पार्न आयुर्वेद प्रभावकारी चिकित्सा भएको प्रष्ट पारे । यो पूर्वीय दर्शनमा आधारित मौलिक एवं प्राचीन चिकित्सा पद्धति भएको भन्दै उनले यसको बिकास र बिस्तारमा प्रदेश सरकार लागिरहेको बताए ।

Kiran Thapamagar-minister
Kiran Thapamagar-minister

भक्तपुरमा आयुर्वेदको अस्पताल चलाउनुपर्ने आवश्यकता औल्याउदै मन्त्री थापामगरले आफू मन्त्री भएकै बेला यसको लागि बजेट छुट्याउने बताएका छन् । “हामी सबै मिलेर अस्पतालका लागि आवश्यक जमिन खोजौ, अस्पतालको भौतिक पूर्वाधार र जनशक्तिका लागि पर्याप्त बजेट दिने प्रतिवद्धता प्रकट गर्दछु ।” उनले भने ।

सो अवसरमा चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष प्रवीण लाखेको पनि उपस्थिति रहेको थियो । मंगलबार करिब दुई सय जना बालबालिकालाई स्वर्णबिन्दु प्रासन गराइएको बताइएको छ ।

स्वर्णबिन्दु आफ्ना बालबालिकालाई प्रत्येक महिना खुवाउन सकिन्छ । अमृत बेला पारेर पुष्य नक्षत्रको दिन हरेक महिना यो कार्यक्रम संचालन हुने चिकित्सालयले जनाएको छ ।

हेर्नुस् कुन महिनामा कुन दिन हुन्छ कार्यक्रम