बनेपा । बनेपा–नाला–ताथली-च्यामासिंह सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका–४ र १ को सीमाना नजिक रहेको एक पुल भाँचिएपछि उक्त सडकमार्ग अवरुद्ध भएको छ।
सडक भासिँदै गएको सूचनाका बीच बनेपा नाला मार्गको उक्त खण्डमा रहेको पुल भाँचिएको हो।
घटनापछि सो रूटमा सवारीसाधन आवतजावत रोकिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
भक्तपुर हुँदै काठमाडौं जान तथा त्यहाँबाट फर्कने सवारी साधनले अरनिको राजमार्गको विकल्पका रूपमा यो बाटोलाई प्रयोग गर्दै आएका थिए। अरनिको राजमार्ग निर्माणका क्रममा रहेकोले यो बाटो यात्रुहरुको रोजाइमा पर्ने गरेकोले चाप र जोखिम बढेको छ ।
यो सडक खण्डको अन्य स्थानमा समेत भासिने घटना देखिएको स्थानीयवासीको भनाइ छ। उनीहरूका अनुसार वर्षासंगै पहिरो र सडक बिग्रने जोखिम अझ बढेको छ ।