
काठमाडौं । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालित ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ मा काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गरेको नसर्ने रोग स्क्रिनिङ्ग अभियानमा ४ हजार ६ सय ७४ जनाले सेवा लिएका छन्।
शुक्रवार सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांक अनुसार, जिल्लाभरिका ११ स्थानीय तहमार्फत सेवा प्रवाह गरिएको थियो।
जसमध्ये ४१ प्रतिशत महिला र ५९ प्रतिशत पुरुष सहभागी थिए भन्ने जानकारी कार्यालय प्रमुख बसन्त अधिकारीले दिए ।
अभियानमा सहभागी भएका ३० वर्ष माथिका व्यक्तिमध्ये ५२.५ प्रतिशतले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको पाइएको छ भने ४७.५ प्रतिशतले भने परीक्षण नगर्ने गरेका छन्।
स्वास्थ्य कार्यालय काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतीश विष्टका अनुसार, “आउँदा वर्षहरूमा अभियानलाई अझ व्यापक बनाएर निरन्तरता दिइनेछ। उत्पादनशील उमेर समूहका नागरिकलाई समेट्ने उद्देश्यका साथ सूचना प्रवाह सबै तहमा पु¥याइनेछ।”
अभियान अन्तर्गत संकलित अन्य तथ्याङ्क अनुसार: ६५ प्रतिशत नागरिकले मदिरा सेवन नगर्ने र ३५ प्रतिशतले सेवन गर्ने देखिएको छ।
२३ प्रतिशतले मानसिक तनाव अनुभव गर्ने र तीमध्ये २ प्रतिशतले औषधि सेवन गर्ने पाइएको छ।
ब्लड जाँचमा २३ प्रतिशतमा मधुमेह (डायबिटिज) र ५८ प्रतिशतमा उच्च रक्तचाप (हाई ब्लड प्रेसर) देखा परेको छ भन्ने जानकारी जिल्ला जनस्वास्थ्य अधिकृत अनिता खनालले दिएकी छन् ।
स्वास्थ्य जाँचका लागि १६ स्थानमा १७ दिनसम्म स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो।
ल्याब टेक्निसियन सरोज रोक्काका अनुसार, अभियान अन्तर्गत अस्पताल, स्थानीय तह, विद्यालय, मन्दिर, सरकारी कार्यालय, पत्रकार महासंघ, प्रधानमन्त्री कार्यालय, केन्द्रिय कारागार लगायतका सार्वजनिक स्थलहरूबाट ३ हजार २ सय ७९ जनाको ब्लड परीक्षण गरिएको थियो।
विश्व स्वास्थ्य संगठन (WHO) को पछिल्लो प्रतिवेदनले विश्वभर ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगहरू रहेको देखाएको छ। यस्ता रोगहरू सुरुमा लक्षण नदेखिए पनि शरीरलाई भित्रभित्रै हानि पुर्याउने हुँदा समयमै जाँच, रोकथाम र जनचेतना अत्यन्त आवश्यक हुने वरिष्ठ प्रशासक विष्टले बताए।

