आउँदै सलाम इच्छुक

काठमाडौ । तत्कालीन जनयुद्धको कठिन कालखण्डमा राज्यद्वारा हत्या गरिएका क्रान्तिकारी पत्रकार एवं साहित्यकार शहीद कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ को छायांकन सम्पन्न भएको छ।

सामाजिक न्याय, क्रान्तिकारी चेतना र मुक्तिको सपना बोकेका इच्छुकको बलिदानलाई श्रद्धापूर्वक स्मरण गर्दै यो गीत तयार पारिएको हो।

गीतमा महेश्वर दाहालको शब्द, केशर कालिकोटेको संगीत र रमण थामीको सशक्त स्वर समावेश छ। गीतकार दाहालका अनुसार, यो सिर्जना इच्छुकजस्ता युगद्रष्टा र अग्रगामी पत्रकारप्रति समर्पित श्रद्धाञ्जली हो। “इच्छुकको विचार र योगदानलाई गीतमार्फत जिवन्त राख्ने प्रयास गरेका छौं,” दाहालले भावुक हुँदै भने।

संगीतकार केशर कालिकोटेले भने, “गीतको धुन इच्छुकको साहस, बलिदान र क्रान्तिप्रतिको निष्ठाबाट प्रेरित भएर निर्माण गरिएको हो। यसले नयाँ पुस्तालाई क्रान्तिकारी चेतनाको सन्देश दिने उनले बताए ।

गायक रमण थामीले गीतमा स्वर भर्ने क्रममा आफू निकै भावुक बनेको अनुभव सुनाउँदै भने, “यो गीत भावनात्मक श्रद्धाञ्जली मात्रै होइन, वैचारिक सम्मान पनि हो।”

गीतमा सुशील सिंह ठकुरी इच्छुकको भूमिकामा उत्रिएका छन् ।

२०५९ साल जेठ १३ गते तत्कालीन राज्यसत्ताले इच्छुकलाई पक्राउ गरी हिरासतमा राखेर अमानवीय यातना दिई हत्या गरेको थियो ।

यस घटनाले त्यसबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा पाएको थियो। इच्छुक नेपाली क्रान्तिकारी पत्रकारिताका प्रतीक तथा जनमुखी साहित्यका अगुवा मानिन्छन्।

गीत ‘सलाम इच्छुक’ केही दिनभित्रै भिडियोसहित युट्युब र अन्य सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ। जनयुद्धकालीन साहित्य, संगीत र सांस्कृतिक आन्दोलनका अगुवा मणि थापा भन्छन्, “यो गीत इच्छुकको विचार र बलिदानलाई आगामी पुस्तामा पुर्नस्थापित गर्ने गहिरो प्रयास हो। विचार र परिवर्तनको बाटोमा हिँड्नेहरुलाई यो एउटा ऐतिहासिक दस्तावेज हुनेछ।”

त्यसैगरी, इच्छुकसँग लामो समय संगत गरेका साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले गीतले नेपाली संगीतमा इतिहासको मूल्याङ्कन गर्ने नयाँ मानक स्थापना गर्ने विश्वास व्यक्त गरे।