
सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। सर्लाहीको कविलासी घर भएका यादवलाई पक्राउ गर्न व्यापक प्रहरी परिचालन भएपनि उनी प्रहरीको हातमा परेका छैनन् ।
जिल्ला अदालत सर्लाहीबाट पक्राउ पूर्जी लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाभरका सबै प्रहरी इकाइहरूलाई उच्च सतर्क अवस्थामा राखेको छ।
पक्राउ आदेश जारी भएसँगै यादवलाई नियन्त्रणमा लिन प्रहरीले लोकेसन ट्र्याकिङ, मोबाइल ट्रेसिङ र सम्भावित आश्रयस्थलहरूमा निगरानी कडा बनाएको छ।
स्रोतका अनुसार जिल्लाका प्रमुख स्थानहरूमा विशेष फोर्स खटाइएको छ भने अतिरिक्त सुरक्षा बल तयारी अवस्थामा राखिएको छ।
अभद्र संवादको अडियो सार्वजनिक भएपछि चर्कियो विवाद
घटनाको पृष्ठभूमिमा, बिहीबार राति जसपा नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीचको अभद्र संवाद रहेको भनिएको अडियो सार्वजनिक भएपछि स्थिति थप तनावग्रस्त बनेको थियो। अडियोमा दुबै पक्षबीच उग्र भनाभन भएको बताइन्छ, जसले राजनीतिक र सुरक्षा तहमा तरंग ल्याएको छ।
त्यही रात यादवलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीय समर्थकहरूले ढुंगामुढा गरेको जनाइएको छ। त्यसक्रममा सरकारी सवारी साधन तोडफोड गरिएको, बाटो अवरुद्ध पारिएको र प्रहरीको कार्यमा अवरोध पुर्याइएको प्रहरीको भनाइ छ।
अदालतको आदेशपछि कडा कारबाही प्रक्रिया सुरु
प्रहरीले उक्त घटनासम्बन्धी प्रतिवेदन जिल्ला अदालतमा पेश गरेपछि अदालतले पक्राउ आदेश जारी गरेको हो। त्यसयता, प्रहरीले अभियानलाई तीव्र बनाएको छ।
सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काले भने, “कानुनबमोजिम कारबाही हुन्छ। जोसुकै भए पनि कानुनी प्रक्रियाबाट भाग्न सक्दैनन्।”
राजनीतिक प्रतिक्रिया र चासो
यता, यादवका समर्थकहरूले घटनालाई “राजनीतिक दवावमा आएको अस्वाभाविक कदम” भन्दै विरोध जनाएका छन्। केहीले यो घटनालाई मधेशप्रति विद्यमान भेदभावको निरन्तरता भन्दै टिप्पणी गरेका छन् भने अर्कोतर्फ कानुन र मर्यादालाई उल्लङ्घन गर्नेलाई उन्मुक्ति दिन नहुने आवाज पनि उठेको छ।
निष्पक्ष अनुसन्धान आवश्यक
पूर्व सांसद तथा प्रदेश अध्यक्षस्तरका नेतामाथि यस्तो प्रकारको विवाद र पक्राउ प्रक्रिया अपवाद नै मानिन्छ। घटनाको निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रिया सुनिश्चित गर्नु अब राज्यको जिम्मेवारी भएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।