नुवाकोट । बागमती प्रदेश सरकारअन्तर्गत संचालित तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले महिनामा दुई दिन मानसिक रोगको नि:शुल्क उपचार गर्ने भएको छ ।
मानसिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यसहित मानसिक रोग विशेषज्ञद्वरा उपचार सेवा प्रदान गरिने चिकित्सालयका प्रमुख डा नरेन्द्रप्रसाद गिरीले जानकारी दिएका छन् ।
“प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनुभवी मानसिक रोग विशेषज्ञ (MD, Psychiatry) मार्फत निःशुल्क बहिरंग सेवा प्रदान गरिनेछ।” डा गिरीले भने ।
डा गिरीले मानसिक समस्या झेलिरहेका नागरिकलाई यो सेवा प्रभावकारी हुने बिश्वास दिलाउदै समयमा उपचार लिन आग्रह पनि गरेका छन् । मानसिक समस्यालाई बेवास्ता नगरी बेलैमा उपचार गर्नुपर्ने उनको भनाइ छ ।
मनमा अत्यधिक चिन्ता वा धेरै कुरा खेलिरहनु, आवश्यकता भन्दा बढी तनाव हुनु, निद्रा नलाग्ने समस्या, बिना कारण डर लागिरहने, अनियमित मुड स्विङ,डिप्रेसन, एन्जाइटी तथा अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्याको लागि अब अस्पतालले हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार ओपिडी सेवा सञ्चालन गरिने चिकित्सालयले स्पष्ट पारेको छ ।
मानसिक स्वास्थ्य सम्बन्धि समस्याको आयुर्वेद तथा बैकल्पिक चिकित्सा मार्फत पहिचान र उपचार हुने बताइएको छ ।
थप जानकारीका लागि चिकित्सालयको फोन नम्बर ०१०–४१०००२ मा सम्पर्क गर्न अथवा, वेबसाइट: dahcnuwakot.bagamati.gov.np हेर्न सकिनेछ ।







