बाबुछोराको झगडा छुट्याउनेक्रममा छिमेकीको गयो ज्यान

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा बाबुछोराबीचको झगडा छुट्याउने क्रममा एक जनाको ज्यान गएको छ।

घेवारचौरस्थित ५२ वर्षिय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षका कुन्सा ग्याल्जेन शेर्पाबीच विवाद बढेपछि छुट्याउन गएका छिमेकी ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरीका अनुसार बिरामी आमाको अवस्था बुझ्न पुगेका तामाङले सोही समयमा भइरहेको बाबुछोराको झगडा सम्झाएर रोक्ने प्रयास गरेका थिए। उनको शरीरमा बाह्य चोटपटक नदेखिएको प्रहरीले जनाएको छ।

घटनापछि बाबुछोरालाई नियन्त्रणमा लिई ‘ज्यानसम्बन्धी कसुर’मा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।