
काठमाडौं । नेपाल पत्रकार महासंघले नागरिक दैनिकमा तालाबन्दी गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा गएको टोलीले रिपब्लिका मिडिया प्रालिका कार्यकारी अधिकृत (सीईओ) को कार्यकक्षमा ताला लगाएको महासंघका सचिव सोनी शर्माले जानकारी दिइन्।
महासंघ र मिडिया हाउसबीच गत साउन २२ गते चार बुँदे सम्झौता भएको थियो। तर उक्त सम्झौता कार्यान्वयन नभएपछि पछिल्ला चार महिनादेखि धर्ना, जुलुस, नाराबाजी, सिठ्ठी बजाउने, लालटिन बाल्ने, एक रुपैयाँ दान अभियानलगायत विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । त्यस्ता आन्दोलनलाई अनादर गर्दै उल्टै त्यहाँ कार्यरत श्रमजीवी पत्रकार र पत्रकार महासंघ विरुद्ध सो मिडियाले मुद्दा हालेपछि महासंघ आक्रोशित भएको हो ।
मिडिया हाउसले श्रमजीवी पत्रकारदेखि महासंघसम्मलाई मुद्दा लगाउनु घोर आपत्तिजनक हो,” वरिष्ठ उपाध्यक्ष आचार्यले भने, “काम गरेको पारिश्रमिक माग्दा मुद्दा लगाइनु निन्दनीय छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ।”
महासंघकी उपाध्यक्ष नितु पण्डितले भनिन्, “सम्झौता कार्यान्वयनका लागि बारम्बार आग्रह गर्यौं। तर सुनुवाइ भएन। अन्ततः माग सम्बोधन गराउन तालाबन्दी गर्न बाध्य भयौं।”
यस अघि महासंघसंग गरिएको सम्झौता कार्यान्वयन नगरेको र पटकपटक पत्राचार गर्दा पनि चित्तबुझ्दो जवाफ नआएपछि आन्दोलन चर्काउनुपरेको महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले स्पष्ट पारे ।” हामी रहरले होइन, बाध्यताले तालाबन्दी गर्न बाध्य भयौं ।” उनले भने ।
महासंघकी केन्द्रीय सदस्य ललिता साहले जनाए अनुसार अनुसार नागरिक दैनिकले करिब एक वर्षदेखि श्रमजीवी पत्रकारहरूको पारिश्रमिक नदिएको, अनावश्यक रूपमा सरुवा गरेको, कार्यरत तीन जना पत्रकारमाथि मुद्दा दायर गरेको तथा मिडिया हाउसलाई सामाजिक सुरक्षा कोषमा आबद्ध नगरिएको लगायतका कारण तालाबन्दी गरी आन्दोलित हुनुपरेको हो ।
महासंघले श्रमजीवी पत्रकारको बक्यौता तलब भुक्तानी, सम्झौताको पूर्ण कार्यान्वयन र श्रम अधिकारको सुनिश्चितता नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारेको छ। चार बुँदे माग पूरा नहुन्जेलसम्म ताला नखोलिने निर्णय गरिएको केन्द्रीय सदस्य साहले बताइन् ।


