माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समिति पुनर्गठन

भक्तपुर । नेकपा माओवादी केन्द्रको भक्तपुर जिल्ला भेलाले जिल्ला समन्वय समिति पुनर्गठन गरेको छ ।

शनिबार सल्लाघारीको नमस्ते बैंक्वेटमा सम्पन्न दोश्रो जिल्ला भेलाले संयोजक सुनिल गोठे बासु र सचिव जीवन तजलाई दोहोर्याउदै जिल्ला समन्वय समिति पुनर्गठन गरेको हो ।

जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले जनाए अनुसार जिल्ला समन्वय समिति ७५ सदस्यीय बनेको छ ।

संघीयताको मुख्य पक्षधर पार्टी भएकोले माओवादी केन्द्रले जिल्लालाई कार्यकारी नबनाइ नगर समितिलाई कार्यकारी बनाएको र जिल्लामा समन्वय समिति मात्र रहेको उनले बताए ।

संयोजक र सचिवबाहेक सबै सदस्य रहने र नगरका पदाधिकारी पनि सो समितिका सदस्य हुने प्रावधान अनुरुप ७५ सदस्यीय समिति बनेको उनले प्रष्ट पारेका छन् ।

भक्तपुरका चार वटै नगरमा नयाँ नेतृत्व आएसंगै जिल्ला समन्वय समिति पुनर्गठन गरिएको हो । माओवादी केन्द्रको भक्तपुर नगरमा राकेश सुवालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ भने चाँगुनारायणमा नरेश खड्का नेतृत्वको समिति छ । त्यसैगरी सुर्यविनायकमा सानुकान्छा आलेमगर र मध्यपुर थिमिमा बिजय कृष्ण श्रेष्ठको नेतृत्वमा नगर समिति निर्वाचित भएको छ ।

समन्वय समिति संयोजक सुनिल गोठे बासुलाई भने प्रदेश समितिले समेत स्वीकार गरी मनोनीत गर्नुपर्ने ब्यवस्था रहेको इन्चार्ज प्रजापतिले जानकारी गराएका छन् ।

जिल्ला भेलामा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बागमती प्रदेश इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै इन्चार्ज शाक्यले माओवादी केन्द्रले आफ्ना कामहरूको ब्रान्डिङ गर्न नसक्दा जनमत बढ्न नसकेको बताए । “अन्य दलले कृतिमता  बेचिरहेछन, हामीले ऐतिहासिक उपलब्धि समेत ब्रान्डिङ गर्न सकेनौ ।” उनले भने ।

त्यस्तै इन्चार्ज शाक्यले माओवादी १० टुक्रामा बिभाजित हुँदा कमजोर बनेको बताउँदै माओवादीबीच एकता हुनसके फेरि जनता उत्साहित हुने र माओवादी केन्द्र पहिलो शक्ति बन्ने बिश्वास ब्यक्त गरे ।

माओवादी शक्ति कमजोर हुने हो भने देशमा अझै भ्रष्टाचार र कुशासन बढ्ने बताउँदै उनले देशमा सुशासन र समृद्धि माओवादी नेतृत्व बिना सम्भव नभएको जनताले अनुभूति गरिसकेका जिकिर गरे ।

सो अवसरमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिलिप प्रजापतिसंगै केन्द्रीय सदस्य एवम् प्रदेश सांसद देवेन्द्र श्रेष्ठ दिवाकर, केन्द्रीय सदस्य एवं काठमाडौ इन्चार्ज सूर्य सुवेदी पथिक, केन्द्रीय सदस्य एवं बागमती प्रदेश स्कुल बिभाग सहइन्चार्ज डिपी ढकाल, केन्द्रीय सदस्य एवं पूर्व प्रदेश सांसद प्रतिमा श्रेष्ठ, तत्कालीन संविधान सभा सदस्य एवं केन्द्रीय सदस्य उमा कपाली त्यस्तै केन्द्रीय सदस्यद्वय श्रीराम खाइजू र इन्दिरा अधिकारीको पनि आतिथ्यता रहेको थियो ।

उनीहरूले समसामयिक राजनीतिक र सांगठनिक विषयमा प्रशिक्षण समेत प्रदान गरेका थिए ।

भेलामा केन्द्रीय सल्लाहकार शिवहरि खनाल, प्रदेश सभा सदस्य समेत रहेकी भुवनकेशरी श्रेष्ठ भावना, प्रदेश सदस्यहरु युवराज आचार्य, बालकृष्ण दुगु, रामशरण दाहाल लगायतको पनि आतिथ्यता रहेको बताइएको छ ।