काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानले आयोजना गरेको सुप्रभात काव्य गोष्ठीमा उपन्यासकार केशव घिमिरेको उपन्यास “रुपिका”माथि विस्तृत परिचर्चा गरिएको छ। कार्यक्रममा घिमिरेलाई साहित्यिक योगदानका लागि सम्मान पनि गरिएको छ ।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले गरे भने प्रमुख अतिथि डा. रमेशप्रसाद भट्टराई थिए।
उपन्यासको समीक्षात्मक चर्चा डा. भगवान चन्द्र ज्ञवालीले गर्दै यसलाई प्रेमसँगै सामाजिक यथार्थ प्रस्तुत गर्ने कृतिको रूपमा मूल्यांकन गरे।
उनले रुपिका उपन्यासको भाषा प्रवाहमय रहेको र त्यसमा दार्शनिक र व्यवहारवादी पक्षहरू समेत समेटिएको बताए।
समीक्षक ज्ञवालीका अनुसार “रुपिका”ले ग्रामीण समुदायमा रहेका कुरीति, विसङ्गति र रुढीबादविरुद्ध प्रश्न उठाएको छ। शिक्षित भए पनि सामाजिक डरका कारण आवाज नउठाउने प्रवृत्तिलाई उपन्यासले गहिरो रूपमा उजागर गरेको उल्लेख गर्दै, उपन्यासमा कमला खोला क्षेत्र, महाभारत पर्वत, चारकोसे झाडी लगायतको वातावरण चित्रण प्रभावशाली रहेको जनाए।
उपन्यासमा चाडपर्व, कृषि प्रणाली र त्यहाँको जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। जातीय सिमाना र रुढीवादी सोचभन्दा पर जानुपर्ने सन्देश दिँदै उपन्यासले महिलाको निर्णय अधिकार, शिक्षा र चेतनाको पक्षमा बलियो आवाज उठाएको पाइन्छ।
विवाहसम्बन्धी कथावस्तुमा उपन्यासले पुरानो परम्परा तोडेर महिलाको स्वविवेकलाई प्राथमिकता दिएको देखिन्छ। शिक्षालाई जीवनको मूल भित्तोका रूपमा चित्रण गरिएको छ।
उपन्यासको केही भागमा क्रान्तिकारी सोचसमेत भेटिन्छ, जसले यसलाई केवल प्रेमकथा नभई सामाजिक चेतनायुक्त कृति बनाएको छ।
कार्यक्रममा प्राज्ञ चेतनाथ धमलाले पनि सहभागिता जनाएका थिए। काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौंबाट सहभागी भएका साहित्यकारहरूले उपन्यास र लेखकको सम्भावनाबारे सकारात्मक प्रतिक्रिया दिएका थिए।
समीक्षक ज्ञवालीले घिमिरेको आगामी कृतिहरू अझ प्रभावशाली हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।