वरिष्ठ साहित्यकार दाहालको ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौं ।वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘बुद्धको देश नेपाल’ काठमाडौंमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य र वरिष्ठ पत्रकार तथा साहित्यकार, हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा गीतको भिडियो औपचारिक रूपमा स्विच–अन गर्दै विमोचन गरियो।

गीतलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वर र संगीत दिएका छन्। यो गीत दाहालको चर्चित महाकाव्य ‘श्वेतपत्र’ बाट साभार गरिएको हो। संगीत संयोजनमा राजु कार्की, संगीत सञ्चयकमा एसबी मुस्कान र सम्पादनमा प्रकाश मिश्रको योगदान छ। अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको यस कृतिको छायांकन र दृश्य सम्पादन राजन खरेलले गरेका छन्। भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसालको अभिनय देख्न सकिन्छ।

मिलाप मासिकको आयोजनामा, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीको सहजीकरणमा सम्पन्न कार्यक्रममा, स्वागत मन्तव्य राख्दै कृष्ण भुसालले सन्तोष श्रेष्ठले साहित्यलाई संगीतसँग जोडी गर्दै आएको अद्वितीय योगदानको प्रशंसा गरे। श्रेष्ठले पनि ‘श्वेतपत्र’ का श्लोकलाई गीतमा रूपान्तरण गर्न निकै मिहिनेत गरेको बताउँदै, यो आफ्नो पृथक सिर्जनात्मक शैलीको अर्को उदाहरण भएको उल्लेख गरे। उनले गजलकार घनेन्द्र ओझासँगको ‘गजलको स्वर्ण दशक’ अभियान र ‘श्वेतपत्र’ बाट अरू गीत ल्याउने योजनाबारे पनि जानकारी दिए।

कार्यक्रममा बोल्दै महाकाव्यकार दाहालले ‘श्वेतपत्र’ लेखनको यात्रामा कतै प्रशंसा र कतै आलोचना भोगेको अनुभव सुनाए। भारतका केही स्थानमा यस कृतिका कारण अनावश्यक विवादमा तानिनु परेको किस्सा पनि उनले स्मरण गरे। वरिष्ठ संगीतकार राजु सिंहले साहित्य र संगीतको मेललाई “सांस्कृतिक सम्पदाको उन्नयन” भन्दै बधाई दिए।

पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा. अम्बिका अर्यालले महाकाव्यमा नेपाल, सिक्किम र भुटानलाई तीन दिदीबहिनीको संवादका रूपमा प्रस्तुत गरिएको चर्चा गर्दै, यसको अझ व्यापक परिचर्चा हुनुपर्नेमा जोड दिइन्। प्रा. ज्ञाननिष्ठ ज्ञवालीले ‘श्वेतपत्र’ लाई लेखकका अन्य कृतिभन्दा अब्बल ठहर गरे। गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले दाहालको गीतकारको नयाँ पहिचानलाई बधाई दिँदै स्वागत गरे।

डा. यज्ञेश्वर निरौलाले दाहालका ‘श्रद्धाञ्जलि’, ‘रश्मी’, ‘योद्धा’, ‘हावर्डको चौतारीमा’, ‘म त बन्दी भएको छु’, ‘यात्राको सिकिर्नी’, ‘अहोरात्र’ लगायतका कृतिहरूको चर्चा गर्दै, ‘श्वेतपत्र’ बाट लिइएको यो गीत भाषिक शुद्धतासहित उच्चस्तरीय गायनमा प्रस्तुत भएको बताए।

प्रमुख अतिथि प्रा.डा. कोइरालाले ‘श्वेतपत्र’ र ‘अहोरात्र’ लाई दाहालको विशेष कृति भन्दै, विद्रोही चेतनाको नवीन महाकाव्य सिर्जनाका लागि शुभकामना दिए। सभापति प्रा. पुरुषोत्तम दाहालले गीत र भिडियो उत्कृष्ट बनेको टिप्पणी गर्दै सम्पूर्ण सिर्जनाकारलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा वरिष्ठ कलाकार उत्तम केसी, समाजसेवी भुपेन्द्र कार्की, गीतकार गीता अधिकारी, पत्रकार सानुकाजी श्रेष्ठलगायतका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।