सानी चरीको गीत: चिनियाँ बाल परीकथा संग्रह लोकार्पण

काठमाडौँ । सानी चरीको गीत नामक चिनियाँ बाल परीकथा संग्रह काठमाडौँमा लोकार्पण गरिएको छ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटको तेम्बाछिरी हलमा चिनियाँ साहित्यकार लेउ तिहोगं, अनुवादक डा. सर्वोत्तम श्रेष्ठ, अरनिको समाज अध्यक्ष डा. सुशिल प्रजापतिसहितले पुस्तक सार्वजनिक गरे।

डा. श्रेष्ठको सातौँ अनुवादित पुस्तक बालबालिकालाई लक्षित छ। यसमा सानी चरीको गीत, छिँकुवा छावा पीपी, माछा र झिँगे माछाको लुकामारी, हात्ती आमा, भ्यागुते बाजा, भूत कोठाको खेल, उड्न चाहने रुख लगायत २२ शीर्षकका कथा छन्।

लेउ तिहोगंले आफ्ना बालकथा नेपालीमा अनुवाद हुनु नेपाल–चीन मित्रता र जनस्तरको सम्बन्धको प्रतीक भएको बताए। नेपाल र चीनको भूबनोट मिल्दाजुल्दा भएकाले कथाहरु पनि नेपाली बालबालिकालाई मन पर्ने खालका रहेको उनको भनाइ छ।

डा. श्रेष्ठका अनुसार यस्ता अनुवादले दुवै देशबीचको साहित्यिक आदानप्रदान र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछ। इन्स्टिच्युटका प्रधानाध्यापक रुपक राजवंशी र डा. प्रजापतिले यसले चिनियाँ समाज, संस्कृति र विचार बुझ्न मद्दत पुर्‍याउने धारणा व्यक्त गरे।