पिताको निधनपछि पत्नीसहित अस्पताल पुगे अध्यक्ष ओली, श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड

भक्तपुर । पिताको निधनपछि पत्नी राधिका शाक्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज अस्पतालमा निधन भएको हो । त्यहाँ पुगेर श्रद्धाञ्जली अर्पण गर्ने आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरुको भिड छ ।

मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन् ।