इब्राहिमको घोडा र बिकिनीहरू सार्वजनिक

काठमाडौ । लघुकथाकार महेश प्रसाईंको नयाँ लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’ सार्वजनिक गरिएको छ।

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको‌ आयोजनामा सोमबार इब्राहिमको घोडा र बिकिनीहरू’सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठान का पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी थिए। कृतिको लोकार्पण लेखक महेश प्रसाईंसहित सभापति प्रमुख अतिथि तथा गोपी मैनाली, युवराज मैनाली, विनोद मन्जन, हरिप्रसाद सिलवाल, खेमराज पोखरेल र राजेन सिवाकोटीले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा प्रमुख वक्ता गोपी मैनालीले नेपाली लघुकथाको विकासक्रम, विश्व साहित्य, Franz Kafka का साहित्यिक प्रयोग तथा बीपी कोइराला को चर्चित कथा ‘कर्नेलको घोडा’ सन्दर्भ उठाउँदै ‘इब्राहिमको घोडा र बिकिनीहरू’ को साहित्यिक पक्षमाथि विस्तृत चर्चा गरेका थिए।
अन्य वक्ताहरूले कृतिले समकालीन समाज, मानवीय मनोविज्ञान र व्यङ्ग्यात्मक यथार्थलाई सशक्त ढंगले प्रस्तुत गरेको धारणा राखेका थिए।
कृतिकार महेश प्रसाईंले आफू पाँच दशकदेखि निरन्तर लेखनमा सक्रिय रहेको उल्लेख गर्दै साहित्यिक यात्राप्रति दृढता व्यक्त गरे। “मैले पचास वर्षदेखि लेखिरहेको छु, अब कसैले उठाएर उठ्ने वा गिराएर गिर्ने अवस्था छैन,” उनले भने।

राजधानीमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नम्रता पाण्डेले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन यादव भट्टराई ले गरेका थिए।जय पाटिलले गीत प्रस्तुत गरेका थिए।

करीब एक सय साहित्य अनुरागीको सहभागिता रहेको कार्यक्रममा अन्त्यमा दिवाभोजको समेत व्यवस्था गरिएको थियो।