काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।स्कटल्यान्डले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
आज नेपाल दुई खेलाडीले अर्धशतक पूरा गरे । इशन पाण्डे आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक (५५ रन) बनाए भने कप्तान रोहित पौडेल ७४ रन बनाउँदै नटआउट रहे । पौडेलको ओडीआई इन्टरनेसनलमा यो १२औँ अर्धशतक हो ।
अघिल्लो खेलमा नटआउट ११० रनको शतकीय इनिङ्स खेलेका ओपनर कुशल भुर्तेल आज भने २८ रनमै रोकिए । त्यस्तै रनआउटको सिकार भएका आशिफ शेखले आज २९ रन जोडे । आज क्याच आउट भएका दीपेन्द्र सिंह ऐरीले २ रन बनाए भने आरिफ शेख ८ रन बनाएर नटआउट रहे ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । टोलीका लागि ब्रान्डन म्याकमुलेनले ७३ रनको सानदार इनिङ्स खेले । उनले मात्र ४४ बलको सामना गर्दै ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।
माइकल इङ्लिसले ७२ बलमा ५१ रनको योगदान दिए । ओपनर जर्ज मुन्सेले ३१ बलमा २१ रन बनाए भने मार्क वाटले ३४ बलमा २० रन जोडेका थिए । स्कटल्यान्डलाई सस्तोमा समेट्न ललित राजवंशी र सन्दीप लामिछानले घातक बलिङ गरे । ललितले ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए ।
सन्दीपले १० ओभरमा ४७ रन दिँदै ३ विकेट हात पारे । उनले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान पनि बनाएका छन् । उनी यो फर्म्याटमा सबैभन्दा चाँडो १५० विकेट लिने बलर बनेका छन् । उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले बनाएको रेकर्ड भङ्ग गर्न सफल भए । नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १–१ विकेट लिए ।
आईसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ मा नेपालको यो १०औँ जित हो । यो जितसँगै नेपाल २७ खेलबाट अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपालको २२ अंक हुँदा नेपालभन्दा माथि रहेको नेदरल्यान्ड्सको २८ अंक छ । यो तालिकाको शीर्ष स्थानमा स्कटल्यान्ड छ । उसको ३१ खेलबाट ३१ अंक छ भने दोस्रो स्थानमा २६ खेलबाट २६ अंक छ । त्यस्तै ओमान २८ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ ।







