काठमाडौँ । ललित राजवंशी र सन्दीप लामिछाने चम्किँदा नेपालले स्कटल्याण्डलाई अल आउट गरेको छ।
विश्वकप लिग-२ अन्तर्गत सोमबार त्रिवि मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको हो।
नेपालले १९५ रनको लक्ष्य पाएको छ। त्यस क्रममा ललित राजवंशीले चार विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए।
लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिए। उनले १० ओभर बलिङमा ४७ रन खर्चिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए।
स्कटल्याण्डका लागि ब्रान्डन मिकमलेनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरी ७३ रन बनाए। माइकल इङ्लिसले ७२ बलमा ५१ रन जोडे। ओपनर जर्ज मुन्सीले २१ र मार्क वाटले २० रन बनाए।
स्कटल्याण्डविरूद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको थियो। त्यतिबेला डिएलएस पद्दतिबाट नेपाल २ रनले पराजित भएको थियो।
अमेरिका विरूद्धको खेलमा नेपालले १९६ रनको लक्ष्य पूरा गरेको थियो। योसँगै नेपालले बाँकी रहेका १० वटै खेल जित्नुपर्ने दबाब छ।







