साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित

काठमाडौँ। साहित्यिक पत्रकार संघ (सापस) द्वारा आयोजित भव्य साहित्यिक समारोहमार्फत कवि किशनसिंह धामीको कविता–सङ्ग्रह ‘सम्बोधनमा छोरी’ र समालोचक डा. हिरण्यलाल ज्ञवालीको समालोचनात्मक कृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ को आज विधिवत् लोकार्पण सम्पन्न भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा प्रतिष्ठित साहित्यकार विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए।

अतिथिहरूलाई स्वागत गर्दै सभापति लेकालीले धामीको साहित्यिक यात्राको प्रसङ्ग उठाउँदै उनको योगदानलाई विशेष रूपले उल्लेख गरे।

प्रमुख अतिथि घिमिरेले दीप प्रज्वलन गरेर उद्घाटन गरेका कार्यक्रमको केन्द्रमा दुई कृतिबारेको विश्लेषणात्मक विमर्श नै रह्यो। समालोचक प्रमोद प्रधानले ज्ञवालीको कृति–सम्बन्धी समीक्षात्मक मन्तव्य राख्दै यसले धामीको कवितायात्रामा नयाँ दृष्टिकोण प्रदान गरेको उल्लेख गरे।

यसैगरी, कवि धामीको “सम्बोधनमा छोरी”बारे वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले भावनापूर्ण टिप्पणी प्रस्तुत गर्दै “छोरी हुने हरेकले यो कृति अवश्य पढ्नुपर्छ” भन्ने धारणा व्यक्त गरे।

प्रमुख अतिथि घिमिरेले लोकार्पित कृतिहरूका स्रष्टाप्रति शुभकामना जाहेर गर्दै “नेपाली साहित्यले विभिन्न विधाको विकास हुँदै तीव्र रूपमा उचाइ लिइरहेको देख्दा गर्व लाग्छ” भने।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, समालोचक डा. हिरण्यलाल ज्ञवालीसहितका विशेष अतिथिहरूले पनि आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। यतिमात्र होइन, कवि सन्ध्या पहाडीले धामीकै नयाँ कृतिबाट कविता वाचन गरेर कार्यक्रममा काव्यिक वातावरण थप रोचक बनाइन्।

साहित्यकार मुरारी सिग्देलले कुशल सञ्चालन गरेको उक्त समारोहमा तारा–किशन फाउन्डेसन, न्यूयोर्क (अमेरिका)को सहकार्य रहेको थियो।

कार्यक्रममा प्रा. डा. गोविन्दमानसिंह कार्की, पवन आलोक, शंकर भारती, विमल भौकाजी, जयदेव भट्टराई, गोपीकृष्ण ढुंगाना, तुलसीहरि कोइराला, गणेश घिमिरे (अस्ट्रेलिया), डा. काशीराज पाण्डे, प्रदीप सापकोटा, ध्रुवराज पुरुष, रन्जना निरौला, नीता श्रेष्ठ, उषा के.सी., रितु कँडेल, रमेश दाहाल, टीकाराम आचार्य, विशाल पहाडी, डा. बोधराज पौडेल, यशोदा अधिकारी, डिल्लीरमण सुवेदी, जीवनकुमार श्रेष्ठ, कपिल ज्ञवाली, रामसिंह विष्ट, बालकृष्ण श्रेष्ठलगायत साहित्य–प्रेमी स्रष्टा तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।