एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राईनोजबिच खेल, लुम्बिनी बिजयी

काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई पहिलो खेलमा पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको दोस्रो संस्करणको पाँचौ खेलमा लुम्बिनीले चितवनमाथि ६ विकेटको जित हासिल गरेको हो ।

चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीका लागि गुलबदिन नैब २४ बलमा ३ चौका र ३ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ४४ रन जोडे । कप्तान रोहितकुमार पौडेल ४४ बलमा १ चौका सहित ३९ रनमा आउट भए । ओपनर सन्दीप जोराले १८ बलमा ४ चौकाको सहयोगमा २८ रनको योगफल तयार गरे ।

चितवनका लागि रिजन ढकालले २ तथा सोहेल तन्विरले १ विकेट लिए । त्यसअघि लुम्बिनीले टस जितेर बलिङ रोजे पछि चितवनले पहिले ब्याटिङ गरेको थियो । चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनको योगफल तयार गरेको थियो ।

चितवनका लागि रवि बोपाराले ५५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो । पहिलो खेलमा बोपाराले कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । एनपिएलको इतिहासमा भने बोपाराको यो पाँचौ अर्धशतक हो ।

चितवनका कप्तान कुशल मल्लले १८ बलमा १ छक्काको सहयोगमा २१ रन बनाउँदै आउट भए । पहिलो खेलमा कर्णालीविरुद्ध पनि खास सुरुवात दिन नसकेका डाविड मिलान यस खेलमा सामना गरेको पहिलो बलमा नै आउट भए । अर्का ओपनर दिपक बोहोरा १० तथा देव खनाल १४ रनमा आउट भए ।

देव खनाल १४ रनमा पेभिलियन फर्कदा सैफ जेबले ७ बलमा १५ रन जोडे । यस संस्करणको पहिलो खेल खेल्दै गरेको लुम्बिनीका लागि रुबेन ट्रम्पनम्यानले ३ तथा अभिषेश गौतम र गुलबदिन नैबले समान २ विकेट लिए ।

सिजनको पहिलो खेलमा जित हात पारेको लुम्बिनीको १ खेलबाट २ अंक भएको छ । पराजित चितवनको २ खेलबाट १ जित र १ हार सहित २ अंक रहेको छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।

पहिलो संस्करणमा पनि लुम्बिनीले चितवनलाई पराजित गरेको थियो । यो नै लुम्बिनीले पहिलो संस्करणमा पाएको एक मात्र जित रहेको थियो ।