डीसीसी प्रिमियर लिग : प्रिन्ट हब किङ्स फाइनलमा, बिपिनको शतकीय इनिङ्स

बुटवल  । सिटी एक्सप्रेस तथा एक्सपोर्ट एजुकेसनद्वारा सञ्चालित डीसीसी प्रिमियर लिग सिजन–२ अन्तर्गत आइतबार सम्पन्न रोमाञ्चक खेलमा प्रिन्ट हब किङ्सले एपीएस युनाइटेडलाई २९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

टस जितेर एपीएस युनाइटेडले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको प्रिन्ट हब किङ्सले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १८६ रनको विशाल योगफल तयार गरेको थियो।

प्रिन्ट हब किङ्सको जितमा बिपिन भट्टराई नायक बने। उनले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ४६ बलमा अविजित १०३ रनको शानदार शतकीय इनिङ्स खेले। उनको इनिङ्स टोलीका लागि निर्णायक सावित भयो।

त्यस्तै फर्सुराम न्यौपानेले ३२ बलमा ६५ रनको उत्कृष्ट योगदान दिँदै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

जितका लागि १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको एपीएस युनाइटेडले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो। टोलीका लागि प्रवत न्यौपानेले २६ रन, रिंकु थापाले २५ रन तथा शंकर चापागाईंले २१ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्।

बलिङतर्फ प्रिन्ट हब किङ्सका मिथु आलमले ३ विकेट लिए। त्यस्तै बिपिन भट्टराई र फर्सुराम न्यौपानेले समान २–२ विकेट हात पार्दै एपीएस युनाइटेडको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए।

ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका बिपिन भट्टराई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले अविजित १०३ रन बनाउनुका साथै २ विकेट समेत लिएका थिए।

यस जितसँगै प्रिन्ट हब किङ्सले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ भने एपीएस युनाइटेडको उपाधि यात्रा सेमिफाइनलमै टुंगिएको छ।