टी–२० विश्वकप सुरु, आजै ३ खेल हुने

  • काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि सुरु भएको छ ।

विश्वकपको पहिलो दिन आज कुल तीन खेल आयोजना हुनेछन्।

पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ। उक्त खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु भएको छ।

यस्तै दोस्रो खेलमा समूह ‘सी’ का टोली स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुनेछन्। खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

आजकै सबैभन्दा चासोको खेल भने समूह ‘ए’ अन्तर्गत आयोजक भारत र अमेरिकाबीच हुनेछ। उक्त खेल मुम्बईको वाङ्खडे स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुने तालिका छ। खेलअघि उद्घाटन समारोह आयोजना हुने जनाइएको छ।

यसैबीच, नेपालले भने आफ्नो पहिलो खेल भोलि आइतबार इंग्ल्यान्डसँग खेल्नेछ। नेपाल रहेको समूह ‘सी’ का खेलहरूमा नेपाल, इंग्ल्यान्ड, स्कटल्यान्ड र वेस्ट इन्डिज सहभागी छन्।

आईसीसी टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।