भक्तपुरका क्रिकेटप्रेमीलाई रुटिन अफ नेपाल बन्दको नि:शुल्क बस सेवा

भक्तपुर । नेपाल प्रिमियर लिग (NPL) हेर्न त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदान पुग्ने दर्शक, विशेष गरी भक्तपुरका क्रिकेट प्रशंसकहरूका लागि ‘रुटिन अफ नेपाल बन्द’ (RONB) ले नि:शुल्क यातायातको ब्यवस्था मिलाएको छ ।

खेल हेरेर राति फर्किँदा सार्वजनिक यातायात नपाउने समस्याबारेको गुनासोपछि RONB ले यो पहल गरेको हो ।

क्रिकेटका दर्शकमाथि परेको असुविधालाई ध्यानमा राख्दै बिहीबार देखि खेल अवधिभरिकै लागि नि:शुल्क बस सेवा सञ्चालन गरिएको  RONB का भिक्टर पौडेलले बताएका छन् । पौडेल आफैं पनि हाल भक्तपुर निवासी हुन् ।

विशेष गरी महिला, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई लक्षित गरिएको यो सेवा प्रत्येक दिन बेलुकी ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने पौडेलले प्रष्ट पारे ।

बस सेवा त्रिवि मैदानको गेट नम्बर ३ बाट शुरु भई सातदोबाटो र कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायकसम्मको रुटमा चल्ने उनको भनाइ छ ।

भिक्टर पौडेलले भने, “भक्तपुरका क्रिकेट फ्यानहरूले खेल सकिएपछि घर फर्कन गाडी पाउन कठिनाइ भएको गुनासो गरेपछि हामीले तत्काल पहल गर्दै यो सेवा सुरु गरेका हौँ।”

यस पहलले एनपिएल हेर्न आउँने दर्शकलाई सुरक्षित, सहज र समयमै घर पुग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल प्रिमियर लिग (NPL) प्रतियोगितामा विभिन्न सहरलाई प्रतिनिधित्व गर्ने टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ । यसले देशभरको क्रिकेट प्रेमीलाई किर्तिपुरमा तानेको छ ।

RONB को यो सामाजिक पहलले NPL हेर्नपुग्ने समर्थकहरूलाई प्रत्यक्ष लाभ हुनुका साथै खेलकुदमैत्री वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको खेलप्रेमी युवा दिपेश लामिछानेले प्रतिक्रिया दिएका छन् ।