खेल बहिष्कारको निर्णय फिर्ता, क्रिकेटप्रेमीले भारत–पाकिस्तान भिडन्त हेर्न पाउने

मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय अन्ततः फिर्ता भएको छ।

भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकपमा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा आमनेसामने हुने भएका छन्।

पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा हालसम्म प्राप्त कूटनीतिक उपलब्धि र मित्र राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै भारतविरुद्ध खेल्न टोलीलाई अनुमति दिइएको जनाएको छ।

पछिल्ला दिनहरूमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी), बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बीच बहिष्कार फिर्ता गराउन तीव्र छलफल हुँदै आएको थियो।

टी–२० विश्वकपकै सबैभन्दा आर्थिक रूपमा लाभदायक खेल मानिने भारत–पाकिस्तान प्रतिस्पर्धा हुनेमा आशावाद बढ्दै गएका बेला पीसीबी अध्यक्ष मोहसिन नक्वीले २४–४८ घण्टाभित्र निर्णय आउने संकेत दिएका थिए।

उता, आईसीसीले भारत भ्रमण अस्वीकारपछि विश्वकपबाट बाहिरिएको बंगलादेशप्रति नरम धारणा अपनाउँदै कुनै पनि जरिवाना नलगाउने स्पष्ट पारेको छ।

बंगलादेशलाई २०२८–२०३१ चक्रअन्तर्गत थप एक आईसीसी प्रतियोगिता आयोजना अधिकार दिइएपछि बीसीबीले पीसीबीको समर्थनप्रति धन्यवाद व्यक्त गर्दै भारतविरुद्धको खेलमा सहभागी हुन आग्रह गरेको थियो।

यससँगै बहिष्कारको आशंका टरेको छ र क्रिकेटप्रेमीले बहुप्रतीक्षित भारत–पाकिस्तान भिडन्त हेर्न पाउने भएका छन्।