सुर्तीजन्य पदार्थको प्रयोग रोक्न जनचेतनामा मन्त्री थापाको जोड

हेटौँडा । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवनलाई रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यकताको बोध गरेको छ ।

हरेक वर्षको मे ३१ तारिखमा मनाइने ‘विश्व सुर्तीजन्य पदार्थ रहित दिवस’ मा एक सन्देश जारी गर्दै स्वास्थ्य मन्त्री किरण थापाले भनेका छन्, “हामीले सुर्तीजन्य पदार्थको सेवन रोकथाम एवं नियमनका लागि ठोस कार्यक्रम आवश्यक छ भन्ने बोध गरेका छौँ।”

सुर्तीजन्य पदार्थको प्रयोगले वर्षेनी विश्वभर ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने तथ्य उल्लेख गर्दै नेपालमै पनि झण्डै ३९ हजार जनाको मृत्यु हुने गरेको र यो दुःखद् भएको उनले बताए ।

नेपालमा बयस्क मानिसको २९ प्रतिसत यो कुलतमा रहेका उल्लेख गर्दै उनले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । 

सुर्तीजन्य पदार्थ प्रयोगका आर्थिक र सामाजिक असरसँगै यसले निम्त्याउने स्वास्थ्य जोखिम, क्यान्सर, हृदयरोग, दीर्घरोग जस्ता रोगका जोखिमलाई समेत जनचेतना मार्फत न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

यस वर्षको नाराको सन्दर्भमा उनले भनेका छन्, “Unmasking the Appeal: Exposing Industry Tactics on Tobacco and Nicotine Products” अर्थात् सुर्तीजन्य उद्योगको आकर्षक चालबारे जनचेतना फैलाउनु अत्यावश्यक छ।

खासगरी तिनले बालबालिका र किशोर/किशोरीहरूलाई लक्षित गरेर गरिने मार्केटिङ, विज्ञापन, प्रचार र नयाँ प्रविधिको प्रयोगमार्फत लत लाग्ने उत्पादनहरूको प्रचार-प्रसार भइरहेको सन्देशमा उल्लेख छ।

मन्त्री थापाले बागमती प्रदेश सरकारको लक्ष्य ‘धूम्रपानरहित समाज’ निर्माण गर्नु रहेको स्पष्ट पारेका छन्। यसका लागि क्षेत्रीय सहकार्य, नीतिगत र कानुनी पहल, शिक्षा संस्थाहरू, युवा, सञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वय अपरिहार्य रहेको सन्देशमा उल्लेख छ।

“हाम्रो प्रयास ‘धूम्रपानरहित समाज’ निर्माणतर्फ अघि बढिरहेको छ,” मन्त्री थापाले भनेका छन्, “यसका लागि हामी सबैले नीति प्रतिबद्धता, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयनका साथ अघि बढ्नुपर्छ।”