प्रधानमन्त्री भन्छन्- गृहमन्त्रीको राजिनामा माग्नु बच्चाले हात्ती मागेजस्तै हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कर्मचारीमाथि प्रश्न उठेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको टिप्पणी गरेका छन्।

कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि भएको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र छानबिनसमेत नचलेको अवस्थामा प्रतिपक्षी दलले राजीनामा माग्नु अवास्तविक रहेको बताए।

“प्रतिपक्षले सरकारलाई मन पराएको छैन, उसले त सरकारकै राजीनामा मागे पनि अचम्म मान्नु पर्दैन,” प्रधानमन्त्री ओलीले भने,

“एउटा कर्मचारीलाई अख्तियारले बोलायो, त्यो पनि बयान लिएको छैन। यस्तो अवस्थामा राजीनामा माग्नु निहुँ खोजिएको मात्रै हो।”

उनले गृहमन्त्रीको राजीनामा माग गर्दा ठोस आधार हुनुपर्ने र यो विषय संसद अवरोध गर्ने विषय बन्न नहुने स्पष्ट पारे।

प्रधानमन्त्रीले तत्कालीन गृहमन्त्रीको राजीनामा मागिएको बेला भने छानबिन चलिरहेको अवस्थामा माग गरिएको भन्दै अहिलेको अवस्था त्यसको जस्तो नभएको जिकिर गरे ।

“विपक्षीले यस्तो विरोध गरिरहेका छन् कि मानौं ३५ किलो सुन नै ओसारिएको हो,” उनले व्यंग्य गरे, “बच्चाले झोला वा खेलौनौ हात्ती मागे जस्तो हो यो, तर सक्कली हात्ती झोलामा हाल्न सकिन्न।”

प्रधानमन्त्रीले कुनै पार्टीभित्रको असन्तोष र व्यक्तिगत आकांक्षाका आधारमा बाहिर विरोध गर्नु उचित नभएको टिप्पणी गरे।

बजेटका सन्दर्भमा प्रधानमन्त्री ओलीले यो बजेट यथार्थपरक र सम्भव हुने हिसाबले ल्याइएको दाबी गरे। “हामी पपुलिष्ट होइनौं। यथार्थभन्दा बाहिर गयौं भने अर्थतन्त्र धराशायी हुन्छ,” उनले भने, “हामीले अब सामाजिक सुरक्षा, सुशासन र समावेशी विकासमा ध्यान केन्द्रित गरेका छौं।”

खेलकुदले सामाजिक एकता र क्रियाशीलता बढाउने भन्दै प्रधानमन्त्री ओलीले हाफ म्याराथुन आयोजनाका लागि कान्तिपुर मिडियालाई धन्यवाद दिए।