अपाङ्गता भएका युवालाई सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ललितपुर । अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजनामा ललितपुरको महालक्ष्मी नगरपालिकामा अपाङ्गता भएका युवायुवतीहरूका लागि सशक्तीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको साझेदारीमा र महालक्ष्मी नगरपालिकाको समन्वयमा शुक्रबार आयोजित समुदायमा आधारित पुनःस्थापना कार्यक्रमअन्तर्गत समावेशी विकास र सशक्तीकरणको विषयमा छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको हो।

कार्यक्रम उद्घाटन गर्दै महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण र समावेशी विकास सबैको साझा उत्तरदायित्व भएको बताइन्।

उनले सबै नागरिकलाई समान अवसर, पहुँच र सहभागिता सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरिन्।

नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनिता शर्माले अपाङ्गता भएका व्यक्तिहरूको हितमा नगरपालिकाले नीतिगत रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।

अपाङ्गता मैत्री पूर्वाधार, परिचयपत्र वितरण, शिक्षा, सीपमूलक तालिम र स्वास्थ्य क्षेत्रमा सहजीकरणका कार्यक्रम भइरहेका भए पनि थप योजनाहरू ल्याउने तयारी भइरहेको उनले बताइन्।

इन्क्लुसिभ सोलुसनका कार्यकारी निर्देशक अधिवक्ता मुकुन्दहरि दाहालले अपाङ्गता भएका युवायुवतीहरूलाई शिक्षा, सीप विकास, रोजगारी, स्वास्थ्य, प्रविधि र नीति निर्माणमा सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउनुपर्ने धारणा राखे।

अपाङ्गता भएका महिलाहरूको महासंघकी अध्यक्ष निर्मला धितालले नीति र कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरू अझै पनि दया र आश्रितको रूपमा हेरिनु दुर्भाग्यपूर्ण रहेको बताइन्।

संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले समावेशी विकासका लागि सशक्तीकरण अपरिहार्य भएको बताए। भौतिक पूर्वाधार विकासमा अपाङ्गता भएका व्यक्तिको आवश्यकता समेट्न उनीहरूले नै आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

सचिव इन्जिनियर कृष्ण महर्जनले अपाङ्गता समन्वय समिति निर्माण गरी आवश्यकताअनुसार आगामी कार्यक्रम तय गरिने बताए। सबै सरोकारवालाको सहकार्यमा मात्र लक्ष्य प्राप्ति सम्भव हुने विश्वास उनले व्यक्त गरे।