अख्तियारको असन्तुष्टि पछि गृहले सच्यायो डिआइजी सरुवा

काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआइजी) हिमालयकुमार श्रेष्ठको सरूवा केही घन्टामै रोकिएको छ।

शुक्रबार दिउँसो साढे ३ बजेतिर नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उनलाई रानीपोखरी पुर्याइएको थियो । अख्तियारस्थित प्रहरी महाशाखा प्रमुख रहेका हिमालयलाई त्यहाँबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको भनिएपनि त्यो कार्यान्वयन हुन सकेन ।

बढुवा भएका ओमबहादुर राना लाई अख्तियार पठाएर हिमालयलाई रानीपोखरी सरुवा गर्ने गृह मन्त्रालयको रुचीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले अरुचि देखाएपछि यो सरुवा केही घण्टामै रोकियो । राना एसएसपी हुँदा पनि अख्तियारमै कार्यरत थिए।

 

अख्तियार संग सहमति लिएर मात्र त्यहाँका प्रहरी तथा कर्मचारी सरुवा गर्ने प्रचलन बिपरित बिना जानकारी डिआइजी झिक्ने र  राख्ने गरेपछि अख्तियार प्रमुख आगो भएका थिए ।

अख्तियार रिसाएपछि गृहमन्त्री पछि हट्न बाध्य बनेका हुन् । भिजिट भिसाको अनुसन्धान गरिरहेको अख्तियारमा बिना सूचना डिआजी हटाउने गृहको नियत ठिक नभएको भन्दै आलोचना समेत भएको थियो । 

गृहले श्रोतले भने हिमालय हट्न खोजेकोले उनले माग गरेअनुसार नै सरूवा गरिएको बताएको छ । “तर अहिलेको आवश्यकता त्यहीँ देखिएकाले करेक्सन भएको हो,’ गृह स्रोतले भन्यो।

“सरूवा प्रक्रियामै थियो, कार्यान्वयन नभइसकेकाले हिमालयलाई अख्तियारमै राखिएको छ र ओम रानालाई रानीपोखरीमा पठाइएको छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी रमेश थापाले भने ।