
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम उच्च बनेको सन्दर्भमा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लीग (YCL) नेपाल, बागमती प्रदेश समितिले विपत् व्यवस्थापन तथा राहतसामग्री तयारीका लागि आपतकालीन भर्चुअल बैठक सम्पन्न गरेको छ।
प्रदेश अध्यक्ष नरेश रञ्जितको अध्यक्षतामा सम्पन्न उक्त भर्चुअल बैठकमा प्रदेश पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो।
बैठकले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपबाट उत्पन्न हुने संभावित जोखिमलाई दृष्टिगत गर्दै विपद ब्यवस्थापन टोलि गठन गर्ने निर्णय गरेको छ ।
प्रदेशमा अध्यक्ष नरेश रन्जितको नेतृत्वमा र जिल्लामा जिल्ला अध्यक्षको नेतृत्वमा विपद ब्यवस्थापन टोलि बनाउने र त्यसमार्फत आवश्यक उद्धार तथा राहतको ब्यवस्था मिलाउने निर्णय गरिएको प्रदेश अध्यक्ष नरेश रन्जितले बताएका छन् ।
निर्णय संगै प्रत्येक जिल्लामा जिल्ला अध्यक्ष नेतृत्वमा विपत् व्यवस्थापन टिम निर्माण र परिचालनका लागि निर्देशन दिइएको उनले जानकारी दिए ।
स्थानीय समस्यामा सशक्त समन्वय गर्दै जोखिममा परेका नागरिकहरूको सुरक्षाका लागि वाइसीएलले सक्रिय भूमिका खेल्ने उनले अपेक्षा गरे ।
उद्धार, राहत ब्यवस्थापन, श्रमदान, र पुनर्स्थापनाको कार्यमा वाइसीएल कार्यकर्ताहरू परिचालित हुने उनले प्रष्ट पारे ।
स्थानीय सरकार र सुरक्षा निकायसँग समन्वय गर्दै वाइसीएलले विपद ब्यवस्थापनमाअसहयोग पुर्याउने प्रदेश अध्यक्ष रन्जितले बताए ।
“उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षा निकाय र सामाजिक संघसस्था र स्थानीयसँग समन्वय गरेर अघि बढ्छौ ।” उनले भने ।
बैठकमा सहभागी प्रतिनिधिहरूले आ–आफ्नो जिल्लामा देखिएका प्रारम्भिक चुनौतीहरू र सम्भावित जोखिमहरूको विश्लेषण प्रस्तुत गर्दै तत्काल कार्यान्वयन हुने योजना बारे अवगत गराएका थिए।
YCL बागमती प्रदेशले जनताको सुरक्षालाई आफ्नो मुख्य दायित्व मानेर विपत्को घडीमा ‘जनताको साथी’को भूमिकामा सक्रिय हुने तत्परता देखाएको भन्दै बैठकमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सन्तोष ब्यक्त गरे ।
सो अवसरमा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहेका माओवादी केन्द्रका जनवर्गीय संगठन इन्चार्ज शालिकराम जमकट्टेल,वाइसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओली लगायतले आवश्यक दिशानिर्देश गरेका थिए ।