उपभोक्ता हितका लागि ललितपुर-३ मा बिषादी परिक्षण केन्द्र सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं.३ कार्यालयले बिषादी परिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ।

आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण र नियन्त्रण गर्नका लागि वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ‘हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो ।

परिक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासीहरु रोगी हुँदा समस्या सृजना हुने भन्दै यसकालागि यो बिषादी परिक्षण केन्द्र उपयोगी हुने विश्वास व्यक्त गरे ।

“नगरवासीहरु रोगी हुँदा यहाँको उत्पादकत्व र जीवनशैलीमा प्रभाव पर्छ, यहाँका नागरिकहरु रोगी भएभने यो महानगर स्मार्ट सिटी हुनसक्दैन, महानगरवासी निरोगी हुँदा मात्रै समृद्ध र सुखी महानगर कायम रहनसक्छ।” उनले भने ।

उनले देशका ६ हजार ७ सय ४३ वडाहरुमध्येमा ललितपुर महानगरको वडा नं. ३ ले उत्कृष्ट काम गरेको भन्ने कुरा निर्विवाद छ भन्दै यो वडा महानगरको २९ वडा मध्ये सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा पनि भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

” म नगरप्रमुख भएको ८ बर्षभन्दा बढि भइसकेको छ, हामीले ८ वर्षभित्र सम्पदा क्षेत्र र पूर्वाधार क्षेत्रमा धेरै काम गरेका छौँ, समयसापेक्ष आउने नयाँ परियोजनालाई पनि ध्यान दिएर सञ्चालन गर्नेछौं, महानगरलाई स्मार्ट सिटी बनाउन धेरै काम गरिरहेका छौँ, ललितपुर महानगरले देशका २ सय ९३ वटा नगरपालिका मध्ये उत्कृष्ट काम गरेको छ।” उनले भने।

हरियाली कायम गर्ने काममा ध्यान दिएर काम गरेका छौं भन्दै मेयर महर्जनले महानगरको सडकका दायाँबायाँ रुख रोपेर हरियाली कायम गरेर यहाँको वातावरणलाई सफा  र स्वच्छ बनाउने प्रयत्न गरेको उल्लेख गरे। उनले जाडो याममा प्रविधिको प्रयोग गरेर सडक वरपरका सडकलाई पानी दिने र पखाल्ने काम गरेको जानकारी गराउँदै भूकम्पले क्षति पुर्‍याएका सबै मठमन्दिर, देवालय, शिवालयको मर्मत सम्भार गरेको बताए ।

सो अवसरमा स्थानीय समेत रहेका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले वडाका हरेक क्रियाकलापमा आफू निकट रहेको जानकारी गराउँदै शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो काम गरेर वडावासीलाई उत्साह भर्ने काम वडाले गरिरहेको प्रति सन्तोष व्यक्त गरे।

काठमाडौंको प्रदुषित वातावरणको असरले विभिन्न किसिममा रोगहरुले मानिसलाई सताइरहेको अवस्थामा वडा कार्यालयले सराहनीय काम गरेको उनको भनाइ छ।

अध्यक्ष डा शर्माले वालवालिकालाई नैतिक शिक्षासमेत दिलाउँदै उनीहरूले प्राप्त गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न तथा संस्कृति र सम्पदालाई जगेर्ना गर्न सिकाउनु पर्नेमा पनि जोड दिएका छन् ।

ललितपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले वडावासीले प्रयोग गर्ने हरेक खाद्य सामाग्रीमा भएको विषादीले मानिसलाई रोगी बनाएको भन्दै तरकारी र खाद्य पदार्थमा बिषादी भएनभएको परीक्षण गरेर मात्रै उपयोग गर्नका लागि बिषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याइएको जनाएका छन् ।

वडाभित्र व्यापार गर्ने तरकारीमा बिषादीको परीक्षण गरेर  अत्याधिक बिषादी भएको पाइएमा कानून अनुसार कारवाही गर्ने उनले स्पष्ट पारे ।

बिषादी प्रयोगका कारण मानिसहरु प्राणघातक तथा दीर्घ रोगबाट पीडित हुनुपरेको र मानव जीवनको दैनिकीमा समेत नकारात्मक प्रभाव रोक्नका लागि यो परिक्षण केन्द्र प्रभावकारी हुने जनाइएको छ।

वडा नं. ३ ले सञ्चालन गरेको हाम्रो घरभित्र वडा व्यवसायिक तालिम केन्द्र, वडाका महिला समूहद्वारा निर्मित सामग्री विक्री केन्द्र, वडा स्वास्थ्य केन्द्र,योग कक्ष सञ्चालनमा रहेको छ।

परिक्षण केन्द्र उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा वडाभित्र बसोबास गर्ने नगरवासीमध्ये गत वर्षको एसइई र कक्षा १२ उतीर्ण गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियोे।