ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद व्यवस्थापन र जोखिम न्युनिकरणमा ललितपुर महानगरपालिका देशभरका पालिकामध्ये अगाडि रहेको दाबी गरेका छन्।
राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा ललितपुर नगरप्रहरी बल कार्यालयमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले विपदका जोखिममा स्थानीय सरकार अग्रपंक्तिमा तयार हुनुपर्ने आवश्यकता औंल्याए।
“विपदका लागि नगरप्रहरीलाई स्रोत र साधनसहित सक्षम बनाइएको छ। आजको तालिमले कार्यक्षमता थप बलियो बनाउनेछ। सिकाइ व्यवहारमा उतार्न जरुरी छ,” महर्जनले भने, “यो प्राधिकरणसँगको सहकार्यमा भएको पहिलो तालिम हो, हामी यसलाई निरन्तरता दिनेछौं।”
उनले विपदको पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने बताउँदै विपद व्यवस्थापनका सम्पूर्ण अवयवलाई एकै ठाउँमा व्यवस्थापन गरिएको जानकारी दिए। “७५३ वटै पालिकामध्ये विपदका क्षेत्रमा उत्कृष्ट बन्ने हाम्रो लक्ष्य हो। आवश्यक सुधारतर्फ ध्यान दिइनेछ। अन्तर्राष्ट्रिय अभ्यासलाई समेत विचार गरिनेछ,” उनले भने।
महानगरले विपद जोखिम न्युनिकरणका लागि चार स्थानमा पूर्वाधार निर्माण गर्न चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट छुट्याएको महर्जनले जानकारी दिए।
उनले विपदको बेला जनताको चिच्याहटसँगै निर्णय लिनुपर्ने अवस्था आउँदा कानुनी अड्चन देखाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भने, “हामीले विपदमा परेकालाई सहयोग गर्दा साना-साना विषयमा समेत अख्तियारले दु:ख दिने गरेको छ। तर इमानदारीपूर्वक काम गर्न रोकिएनौं।”
तालिममार्फत समुदायमै पहिलो उद्धारकर्ता तयार
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपदको बेला स्थानीय समुदाय नै पहिलो उद्धारकर्ता हुने बताए। “तीन तहका सरकारबीच समन्वय गर्ने जिम्मा प्राधिकरणको हो। स्वयंसेवक परिचालनको नमूना परियोजनाका रूपमा यो तालिम सुरु गरिएको हो,” उनले भने।
उनका अनुसार प्रत्येक टोलमा सेना वा प्रहरी पुग्न नसक्ने भएकाले समुदायमै सीप र दक्षता विकास गरेर जोखिम कम गर्ने लक्ष्य लिएको छ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सुर्यनारायण श्रेष्ठले समुदायबाट हुने उद्धार र प्रतिकार्य प्रभावकारी हुने भन्दै तालिमबाट तयार हुने प्रशिक्षकहरूले स्थानीय तहमा प्रभावशाली तालिम दिन सक्ने बताए।
तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य
ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले नेपालको भूगोल सुन्दर भए पनि प्राकृतिक विपदको जोखिमयुक्त रहेको बताउँदै तालिमबाट विपद व्यवस्थापनमा प्रभावकारिता आउने विश्वास व्यक्त गरिन्।
“स्रोत, साधन र उपकरण पर्याप्त भए पनि दक्ष जनशक्ति नभएसम्म प्रभावकारी व्यवस्थापन सम्भव हुँदैन। यस्तो तालिमलाई निरन्तरता दिनु आवश्यक छ,” उनले भनिन्।
नगरप्रहरीलाई लक्षित गरी आयोजित सात दिने तालिममा प्रयोगात्मक र सैद्धान्तिक रूपमा अभिमुखीकरण गरिने तालिम संयोजक अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राईले जानकारी दिए ।