पहिलोपटक एक बिरामीमा दुई अङ्गको सफल प्रत्यारोपण

भक्तपुर, ११ जेठ । नेपालमा पहिलोपटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृगौला एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्पन्न यो शल्यक्रिया नेपाली चिकित्सकको टोलीले स्वदेशमै गरेको ऐतिहासिक उपलब्धि हो ।

प्रत्यारोपणको नेतृत्व गरेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “यो संसारमै बिरलै पाइने चिकित्सा उपलब्धि हो, जुन पूर्णरूपमा नेपाली चिकित्सकको समर्पण, तयारी र समन्वयको नतिजा हो।”

Dr pukarchandra Shrestha
Dr pukarchandra Shrestha

अंगदाता र प्राप्तकर्ता

कलेजो र मिर्गौला काठमाडौँ मेडिकल कलेजमा उपचाररत १८ वर्षीय युवकबाट प्राप्त गरिएको हो। मस्तिष्क मृत घोषित भएपछि युवकका परिवारले अंगदानका लागि स्वीकृति दिएका थिए। अंग संकलनको समन्वय डा. कल्पना श्रेष्ठले गरेकी थिइन्। उक्त अंग मकवानपुरका ५१ वर्षीय शिव महर्जनमा सफलतापूर्वक प्रत्यारोपण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । थप एक मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको बताइएको छ ।

अभूतपूर्व चिकित्सा समन्वय

कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले सहकार्य गरेका थिए। मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्का लगायत सहभागी थिए। एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा र डा. रेखा श्रेष्ठको टोली खटिएको थियो।

नेफ्रोलोजी, रेडियोलोजी, प्याथोलोजी, नर्सिङ, ट्रान्सप्लान्ट कोर्डिनेसन र व्यवस्थापन पक्षमा करिब ५० जनाको दक्ष समूह प्रत्यक्ष सहभागी रह्यो। सम्पूर्ण प्रक्रिया नेपाली चिकित्सक टोलीले आफ्नै अनुभव र प्रविधिको भरमा सम्पन्न गरेका हुन्।

दुई अंग, एउटै बिरामी – पहिलोपटक

 केन्द्रका अनुसार हालसम्म मस्तिष्क मृत ६ जनाबाट १६ वटा अंग (१२ मिर्गौला, ४ कलेजो) प्रत्यारोपण भइसकेको छ। तर एउटै दाताबाट दुई अंग लिएर एउटै बिरामीमा प्रत्यारोपण गरिएको यो पहिलो घटना हो।

जनचेतना र नीति कार्यान्वयनको खाँचो

डा. श्रेष्ठका अनुसार नेपालमा हरेक वर्ष हजारौं बिरामी कलेजो र मिर्गौला फेल भएर उपचारको प्रतीक्षामा बसिरहेका छन्। “हामीसँग दक्ष जनशक्ति, प्रविधि र प्रतिबद्धता छ, तर चुनौती भनेको जनचेतना र नीतिको प्रभावकारी कार्यान्वयन हो,” उनले बताए।

अंगदान प्रक्रियामा कानुनी स्वीकृति, पारिवारिक सहमति र समयको चाँप अत्यधिक महत्त्वपूर्ण हुने भएकाले नागरिक तहमा सचेतना अभियान अपरिहार्य रहेको केन्द्रको भनाइ छ।

सरकारी प्रोत्साहन र भावी योजना

सरकारले मस्तिष्क मृत अंगदाता परिवारलाई दुई लाख र अंग संकलन गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ। केन्द्रले आगामी दिनमा सातै प्रदेशमा सेवा विस्तार, आफ्नै शैक्षिक प्रतिष्ठान स्थापना र विशेषज्ञ उत्पादन कार्यक्रम अघि बढाउने योजना बनाएको छ। तर त्यसका लागि भूमि व्यवस्थापन र राजनीतिक सहकार्य अपरिहार्य रहेको केन्द्रले स्पष्ट पारेको छ।

बिरामीको अवस्था सुधारोन्मुख

प्रत्यारोपण गरिएका दुई बिरामीको अवस्था सामान्य हुँदै गएको छ। उनीहरू केही दिनमै डिस्चार्ज हुने तयारीमा छन्। पत्रकार सम्मेलनमा दुवै बिरामीसँग भिडियो संवाद पनि गरिएको थियो। चिकित्सक टोलीले यस्तो प्रत्यारोपणलाई संसारकै जटिल प्रक्रियामध्ये एक मानेका छन्।

पत्रकार सम्मेलनका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अन्त्यमा भने, “एक मस्तिष्क मृत व्यक्ति आठ जनाको जीवन बचाउन सक्छ। अब हामी सबैले अंगदानप्रति संवेदनशीलता र सकारात्मक सोच विकास गर्नुपर्छ।”

सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र
शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र