गणतन्त्र दिवस जनस्तरमा मनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, ११ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई सरकारी मात्र नभई जनस्तरबाट पनि भव्य रूपमा मनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस चौतारी नेपालका नेतासंगको भेटमा प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त गणतन्त्रलाई दिवसकोरुपमा खुशीयालीपूर्वक मनाउनुपर्नेमा जोड दिदैँ जनस्तरमा कार्यक्रम गर्नुपर्ने बताएका उनका प्रेस संयोजक प्रकाश सिलवालले जनाएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जातजातिगत विविधता, बाजागाजा र सांस्कृतिक झाँकीसहित उत्सवको रूपमा प्रत्येक ठाउँमा मनाउनु पर्ने प्रष्ट पारे ।

संघीय लोकतान्त्रिक गणतन्त्रको जनताले ल्याएकोले यसको सुदृढीकरणका लागि जनता नै लाग्नुपर्नेमा उनले जोड दिए । सञ्चार क्षेत्रमार्फत जनताबीच सत्य सूचना प्रवाह र प्रचारप्रसार गरी गणतन्त्र बिरोधीमा भ्रम खारेज गर्नु आवश्यक रहेको उनले बताए ।

 प्रेस चौतारी नेपाललाई सञ्चारमाध्यम तथा डिजिटल मिडियामा गणतन्त्रले ल्याएको सकारात्मक परिवर्तन प्रचारप्रसारको नेतृत्व लिन ओलीले आग्रह गरेका पनि संयोजक सिलवालले जानकारी गराए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले देशभक्तहरू आफूलाई प्रिय लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीप्रति असहमति रहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न अनुरोध गरेका बताइएको छ ।

सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसमेत उपस्थित रहेकी थिइन् ।

सरकारले यही जेठ १५ गते मनाउने गणतन्त्र दिवसका लागि प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिसकेको छ। प्रधानमन्त्रीको पार्टी नेकपा एमालेले यसलाई सास्कृतिक झाकी र नाचगान प्रस्तुत गर्दै मनाउने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीका सबै जनवर्गीय संगठन मात्र होइन, जनताले पनि खुशीयाली साटासाट गर्दै गणतन्त्र दिवस मनाउने अपेक्षा गरेका छन् ।

गणतन्त्र दिवसकै दिन गणतन्त्र बिरोधि दल राप्रपाले राजसंस्थाको समर्थनमा शक्ति प्रदर्सनको तयारी गरेको छ । प्रधानमन्त्री ओलीले रछ्यानमा पुगेको राजसंस्था बोक्ने दु:शासह नगर्न चेतावनी दिदैँ आएका छन् ।