काठमाडौं । सत्तारूढ दल नेकपा(एमाले) ले दोस्रो विधान महाधिवेशनको नारा तय गरेको छ। महाधिवेशनका लागि “निर्णायक राष्ट्रिय शक्ति निर्माण–हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली–हाम्रो गन्तव्य” भन्ने नारा तय गरिएको हो ।
भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशन महत्वपूर्ण हुने बताइएको छ । ललितपुरको गोदावरीमा हुने महाधिवेशन प्रतिनिधिका लागि डिजिटल प्रवेश पासको ब्यवस्था मिलाइएको छ ।
विधान महाधिवेशनको मस्यौदा भने अझै तयार भएको छैन । मस्यौदामा छलफल गर्न मंगलबार बस्ने भनेको केन्द्रीय समिति बैठक बस्न नसकेको एक केन्द्रीय सदस्यले बताएका छन् ।
उक्त महाधिवेशनमा संगठनात्मक संरचना, नीति तथा कार्यक्रमलाई दीर्घकालीन दृष्टिकोणसहित सुदृढ गर्ने तयारी भइरहेको छ। घोषणाअनुसार वर्तमान राजनीतिक परिवेशमा राष्ट्रलाई एकताबद्ध गर्ने, जनआकांक्षा अनुसारको विकास मार्गचित्र तय गर्ने र भावी नेतृत्वका लागि स्पष्ट दिशानिर्देश दिने उद्देश्य राखिएको छ।







