वीरगञ्जको क्यासिनोमा अर्थमन्त्रीको आँखा

वीरगञ्ज । पर्सा र बारा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको आशंकामा अनुसन्धान गर्न निर्देशन दिइएको छ । अर्थमन्त्री रामेश्वर खनालले बारा र पर्सा जिल्लाका विभिन्न होटलहरूमा सञ्चालित क्यासिनोहरूले गैरकानुनी धन्दा चलाएको गुनासो पछि राजस्व अनुसन्धान विभागलाई लिखित रूपमै अनुसन्धानका लागि निर्देशन दिएका हुन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार पर्सा जिल्लामा सञ्चालित विभिन्न क्यासिनोहरूले सम्पत्ति शुद्धीकरण( मनी लउन्ड्रिङ)निवारण ऐन २०६४, पर्यटन ऐन२०३५ , क्यासिनो नियमावली २०८२को पालना नगरेकोले ती क्यासिनो र क्यासिनोका सञ्चालकहरूमाथि अनुसन्धान गर्न निर्देशन दिइएको हो ।

अर्थमन्त्रालयले केही दिन अगाडि राजस्व अनुसन्धान विभागलाई लिखितरूपमै पर्सा जिल्लामा सञ्चालित क्यासिनोहरूको अनुसन्धान गर्न भनेको छ । यद्यपि राजस्व अनुसन्धान विभागले अहिलेसम्म के अनुसन्धान गरिरहेको छ , अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ कि छैन त्यो भने मन्त्रालयलाई जानकारी नभएको बताइएको छ ।

पर्साको वीरगञ्जमा सञ्चालित क्यासिनोहरूले गैर कानुनीरूपमा नेपालीहरूलाई समेत क्यासिनो प्रवेश गराएको ,राजस्व छलेको तथा अन्य गैरकानुनी गतिविधि गरेको आशंका पछि अर्थमन्त्रालयको ध्यानाकृष्ट भएको बताइन्छ ।

वीरगञ्जमा रहेको होटल दियालोमा, क्लार्क रिसोर्टमा ,होटल सुरजलगायतमा क्यासिनोहरू सञ्चालित छन् । यस्तै बाराको इच्छा होटलमा पनि क्यासिनो सञ्चालित छ ।