पूर्वप्रधानमन्त्री प्रचण्डलाई दुई दर्जन प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति असहज बन्दै गएको बताएका छन् । लोकतन्त्र, गणतन्त्र, संघीयता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राजनीतिक दल र सञ्चार क्षेत्रबीच पुनः सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले नागरिक नै निर्णायक शक्ति भएकोले सही निर्णय लिन सचेत नागरिकले प्रेरित गर्नुपर्ने प्रष्ट पारे ।

पढ्नुस समसामयिक विषयमा प्रतिनिधि सभा सदस्य समेत रहेका क्रान्तिकारी नेता प्रचण्डको धारणा  :

१. अहिलेको सरकारलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड : सरकारका प्रारम्भिक संकेतहरू राम्रो छैनन्। संसद्मा आफ्नो पहिलो सम्बोधनमै मैले सरकारको संकेतप्रति सतर्क रहन र विगतबाट सिक्न आग्रह गरेको थिएँ। सरकार आफैँ अपरिपक्व र वैचारिक–राजनीतिक दिशाविहीनजस्तो देखिन्छ।

२. बालेन नेतृत्वको सरकार कति टिक्ला ?
प्रचण्ड : निश्चित मिति तोकेर सरकार ढल्छ भन्न सकिँदैन। दशैँ–तिहारपछि सरकार जाँदैन भन्ने हल्ला पनि चलेको छ। तर त्यस्ता कुरा मनोगत र हावादारी हुन्। अहिलेको शैलीमा सरकार धेरै अघि बढ्न सक्दैन। कम्पास हराएको जहाजजस्तो अवस्था छ।

३. रास्वपाको वर्तमान राजनीतिक अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

प्रचण्ड : नयाँ संसद्मा रास्वपाको ठूलो उपस्थिति देखिनु आफैँमा महत्वपूर्ण कुरा हो। जुनसुकै पार्टीको जित भए पनि संविधान र परिवर्तनको स्वामित्वका हिसाबले त्यसलाई हेर्नुपर्छ। रास्वपाका सांसदहरूलाई हेर्दा ‘त्यहाँ म पनि छु’ जस्तो लाग्छ।

४. रास्वपाको जनाधार टिकाउ होला ?
प्रचण्ड : त्यसमा प्रश्न उठ्न सक्छ। सडक आन्दोलन र सामाजिक सञ्जालबाट जोडिएका मानिसहरू दीर्घकालीन राजनीतिक विचार र संघर्षसँग कति जोडिन्छन् भन्ने महत्वपूर्ण कुरा हो। एक नेताले मलाई ‘बाटोमा हिँड्दाहिँड्दै बटुलेको छ, हिँड्दाहिँड्दै सबै हराउने हुन् कि’ भन्नुभएको थियो। अहिले रास्वपातर्फ आकर्षित भएका कतिपय मानिसमा पुनर्विचारको अवस्था देखिएको छ।

५. रवि लामिछानेप्रति तपाईंको मूल्यांकन के छ ?
प्रचण्ड : पछिल्लो समय रवि लामिछानेमा राजनीतिक परिपक्वता बढेको महसुस गरेको छु। तुलनात्मक रूपमा राजनीतिक म्याच्योरिटी रविमै रहेछ भन्ने कुरा धेरैले महसुस गरेका छन्। उहाँ राजनीतिक संकटमा पर्दा मैले संसददेखि सार्वजनिक मञ्चसम्म बचाउ गरेको छु। जेलमै गएर भेटेको छु।

६. वर्तमान परिस्थितिमा राष्ट्रिय स्वाधीनता जोखिममा छ ?
प्रचण्ड : दुई–तीनवटा कुरामा खतराको घन्टी बजेकै छ। राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र जनताको सार्वभौम अधिकारमाथि चुनौती छ। लोकतन्त्र, गणतन्त्र, समावेशिता र समानुपातिक प्रतिनिधित्व लामो संघर्षबाट प्राप्त उपलब्धि हुन्। त्यसको रक्षा गर्नुपर्छ।

७. संसद्मा तपाईंको उपस्थिति कम भएको हो ?
प्रचण्ड : हो, संसद्मा मेरो उपस्थिति अलि कम भएको हो। तर संसद्प्रति निराश भएर नआएको होइन। बिरामी भएर १५–२० दिन आराम गर्नुपर्‍यो। त्यसपछि प्रदेश भ्रमण, पार्टीका कार्यक्रम र श्रीलंका भ्रमणलगायतका कारण संसद्मा कम देखिएँ।

८. अहिलेको संसद् कस्तो लागिरहेको छ ?
प्रचण्ड : अहिलेको संसद्मा विगतको जस्तो राजनीतिक अनुभव र पुस्तागत सम्मिश्रण देखिँदैन। पहिले पूर्वप्रधानमन्त्रीदेखि अनुभवी नेता र युवासम्मको सम्मिश्रण हुन्थ्यो। अहिले पुराना साथीहरू धेरै देखिँदैनन्। त्यसले कहिलेकाहीँ असहज महसुस हुन्छ। तर यही कारण संसद् जान छाडेको होइन।

९. संविधान संशोधनको बहसलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड : सरकारले अघि सारेको बहसपत्र सामान्य संविधान संशोधनको विषयजस्तो लाग्दैन। प्रस्तावनादेखि धेरैजसो प्रावधान परिवर्तन गर्ने कुरा आएपछि त्यो संशोधनभन्दा संविधान पुनर्लेखनको प्रयासजस्तो देखिन्छ। अनुभवका आधारमा केही प्रावधान संशोधन गर्न सकिन्छ, तर संविधान नै पुनर्लेखन गर्न सकिँदैन।

१०. भदौ २३ र २४ गतेको आन्दोलनपछि पुराना दलप्रति धारणा परिवर्तन भएको हो ?
प्रचण्ड : ‘पुराना पार्टी र पुराना नेता’ विरुद्धको भाष्य बलियो बन्यो। हामीले राम्रो कुरा बोले पनि त्यसलाई सकारात्मक रूपमा लिनुभन्दा नकारात्मक ढंगले प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ। 

११. अचेल तपाईं पहिला जस्तो बोल्नुहुन्न, तपाईंलाई कम बोल्न सुझाव आएको हो ?
प्रचण्ड : आएको छ। अहिलेसम्म पनि ‘प्लिज नबोलिदिनुस्’ भन्ने अनुरोध गर्नेहरू छन्। राम्रो कुरा भन्यो भने पनि त्यसलाई भाँचकुच गरेर नकारात्मक बनाइदिने अवस्था छ। तर म निष्क्रिय भने छैन। सातै प्रदेश पुगेको छु, पार्टीका कार्यक्रम र सार्वजनिक गतिविधिमा सक्रिय छु।

१२. यहाँले पत्रकारिताको भूमिकालाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड : राजनीतिक दल र मूलधारका सञ्चारमाध्यमबीच सहकार्य आवश्यक छ। जनयुद्ध, २०६२/०६३ को आन्दोलनदेखि शान्ति प्रक्रियासम्म पत्रकार र राजनीतिक दलबीचको संवाद र सहकार्यले परिवर्तनलाई बल दिएको हो। अहिले सामाजिक सञ्जाल र एल्गोरिदमले स्थापित पत्रकारितालाई विस्थापित गर्ने चुनौती देखिएको छ।

१३. धर्मनिरपेक्षता हटाउने बहसलाई कसरी हेर्नुहुन्छ ?
प्रचण्ड : यो स्वीकार्य हुँदैन। नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो। राज्यले कुनै धर्म वा समुदायलाई विशेष संरक्षण वा दुरुत्साहन गर्नु हुँदैन। यही मान्यताबाट धर्मनिरपेक्षताको अवधारणा आएको हो। सुनसरी र तराई–मधेशमा देखिएको हिन्दू–मुस्लिम तनावप्रति पनि गम्भीर हुनुपर्छ।

१४. अहिलेको राजनीतिक संकटमा राजनीतिक दलकै कमजोरी छ भनिन्छ नि, मान्नुहुन्छ ?
प्रचण्ड : हामीले पहिले आफ्नै कमजोरी खोज्नुपर्छ। अरूले गल्ती गरे भन्ने एउटा कुरा हो, तर हामी कहाँ चुक्यौँ र यस्तो परिस्थिति कसरी बन्यो भन्ने समीक्षा गर्नुपर्छ। जनयुद्धदेखि शान्ति प्रक्रिया, संविधानसभा र संविधान निर्माणसम्म हामी स्पष्ट रणनीतिका साथ अघि बढ्यौँ। संविधान बनेपछि भने हाम्रो ध्यान सरकार बनाउने र गिराउनेतर्फ बढी गयो।

१५. तपाईंको मुख्य राजनीतिक कमजोरी के रह्यो ?
प्रचण्ड : हामीले रणनीति छाड्यौँ र कार्यनीतिमा घुम्यौँ। हाम्रो विरोधी चाहिँ रणनीतिमा केन्द्रित भयो। हामीले गणतन्त्र र संविधान आएपछि राष्ट्र सुरक्षित भयो भनेर बढी आत्मसन्तुष्टि लियौँ। हामी रिल्याक्स भयौँ, तर हामीलाई चुनौती दिने शक्ति रिल्याक्समा रहेनछ।

१६. नेपालमा अमेरिकी प्रभावबारे तपाईंको धारणा के हो ?
प्रचण्ड : १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका बेला तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नहुने धारणा राखेका थिए। विभिन्न राजनीतिक दलका नेताहरूलाई भेटेर त्यसका लागि दबाबसमेत दिएका थिए। तर तत्कालीन भारतीय सरकार र प्रधानमन्त्री मनमोहन सिंहको भूमिकाका कारण त्यो दबाब सफल हुन सकेन। त्यसबेला अमेरिकाले रणनीतिक रूपमा दक्षिण एसियामा हार्‍यो, हामीले जित्यौँ।

१७. अब राजनीतिक आन्दोलनको मुख्य मैदान कहाँ हो ?
प्रचण्ड : अब सडक आन्दोलन मात्र पर्याप्त हुँदैन। सामाजिक सञ्जाल, एआई र डिजिटल प्लेटफर्म राजनीतिक प्रभाव निर्माणको नयाँ मैदान बनेका छन्। अब आमसभा वा जुलुस निकालेर मात्र केही हुनेवाला छैन। मानिसको दिमागमा प्रभाव पार्ने काम मोबाइल, कम्प्युटर र डिजिटल माध्यमबाट भइरहेको छ।

१८. प्रदेश सरकारबारे एमालेसंग किन सहकार्य गर्नुपर्यो ?
प्रचण्ड : सुरुमा प्रदेश सरकार परिवर्तनमा हाम्रो रुचि थिएन। तर प्रदेशसभा विघटन हुने र त्यसबाट संघीयता विरोधी शक्तिलाई राजनीतिक लाभ हुने अवस्था देखिएपछि प्रदेशसभा बचाउन सहकार्यको प्रयास गर्‍यौँ। कांग्रेस र एमालेसँग पनि वार्ता गर्‍यौँ। कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेश सरकार बनाउन प्रयास गरे पनि सहमति हुन सकेन।

१९. कांग्रेससँग सम्बन्ध कस्तो छ ?
प्रचण्ड : कांग्रेसलाई माइनस गरेर जाने हाम्रो उद्देश्य छैन। गगनजीसँग पनि कुरा भइरहेको छ, पूर्णबहादुरजीसँग पनि कुरा भइरहेको छ। लोकतन्त्र र संविधानको रक्षाका लागि व्यापक राजनीतिक सहकार्य आवश्यक छ।

२०. केपी शर्मा ओलीसँगको सहकार्य दीर्घकालीन हुन्छ ?
प्रचण्ड : अहिले नै निष्कर्षमा पुग्नु हुँदैन। केपीजीले सहकार्य गरेर अघि बढ्ने कुरा इमानदारीपूर्वक राख्नुभएको छ। तर उहाँले यो सहकार्य आफ्नो पार्टीभित्रको राजनीतिक भूमरी व्यवस्थापनका लागि मात्र प्रयोग गर्न खोज्नुभएको हो कि दीर्घकालीन राजनीतिक सहकार्यका लागि हो, त्यो समयसँगै स्पष्ट हुन्छ। अहिलेको सहकार्यलाई एउटा सत्ता समीकरणका रूपमा मात्र बुझ्नु हुँदैन। यो लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्यको सुरुवात पनि हुन सक्छ।

२१. अबको राजनीतिक बाटो के हो ?
प्रचण्ड : तत्कालीन सत्ता समीकरणभन्दा माथि उठेर राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र, संविधान र समावेशिताको रक्षा गर्नुपर्छ। राजनीतिक दल, पत्रकार र सचेत नागरिक सबैले यसमा भूमिका खेल्नुपर्छ। राष्ट्र नै रहेन भने अधिकारको अर्थ हुँदैन। हामी एक हुनुपर्छ। छिट्टै नै परिवर्तन हुन्छ र देश लोकतान्त्रिक दिशातिर फर्किन्छ भन्ने मलाई विश्वास छ।