काठमाडौँ । कोलोम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १११ जनाको मृत्यु भएको छ।
कोलोम्बियाको भूगर्भीय सेवाका अनुसार बिहान ७:३४ बजे चोको प्रान्तको सान जोस डेल पालमार गाउँ नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो।
यसको धक्का पश्चिमी कोलोम्बियाका सयौं माइलसम्म महसुस गरिएको थियो। अहिलेसम्मकै शक्तिशाली मध्येको भूकम्प गएसँगै त्यहाँ आपतकालीन अवस्थाको घोषणा भएको बिबिसीले जनाएको छ।
राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले आपतकालको घोषणा गर्दै उद्धारका लागि विशेष अधिकारको प्रयोग गर्न सक्ने भएका छन्। यो घोषणा भएसँगै अब सरकारले आवश्यकता अनुसार उद्धार तथा पुनर्निर्माणका लागि बजेट विनियोजन गर्ने बिबिसीले जानएको छ।
भूकम्पले भत्किएका संरचनामा फसेका व्यक्तिहरू हुनसक्ने भएकाले मृतकको संख्या समेत बढ्न सक्छ। भूकम्पको केन्द्रबिन्दु रहेको गाउँमा भने कुनै मानवीय क्षति नरहेको मेयर लियन फाबियो मरिन मोनकाडाले बताए।
यद्यपि केन्द्रबिन्दु भन्दा ५५ किलोमिटर टाढा रहेको पेरेइरा सहरमा ठूलो क्षति भएको हो। धेरैजसो मृत्युको घटना पेरेइरा सहरमा भवनहरू भत्किएर भएका छन्।
मानिजालेस, क्विब्दो, मेडेलिन, चोको र भाये डेल काउका क्षेत्रभर पनि मानिसहरूको मृत्यु भएको बिबिसीले समाचारमा उल्लेख गरेको छ।







