भक्तपुरको गेष्ट हाउसमा बसेकी १८ वर्षीया युवती मृत फेला, चार जना नियन्त्रणमा

भक्तपुर । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। घटनापछि उनीसँगै गेष्ट हाउसमा बसेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

मृतक दोलखा भीमेश्वर नगरपालिका–९, खरीढुंगा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–९, टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ३ः३० बजे गेष्ट हाउसको पछाडिपट्टि एक युवती लडिरहेको अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग दुधपाटीको टोली घटनास्थल पुगेको थियो। गम्भीर अवस्थामा रहेकी श्रेष्ठलाई तत्काल भक्तपुर अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ३ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

लुम्बिनी गेष्ट हाउसका एक कर्मचारीका अनुसार सलिनासहित पाँच जना आइतबार राति करिब १० बजे गेष्ट हाउसमा पुगेका थिए। उनीहरूले दुई वटा कोठा लिएर बसेका थिए। उनीहरूले मदिरा सेवन गरेको तथा राति कोठामा केहीबेर होहल्ला समेत भएको कर्मचारीको भनाइ छ।

घटनापछि सलिनासँगै रहेका दुई पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। नियन्त्रणमा रहेका सबै २३ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक बयानमा उनीहरूले साथीभाइबीच जमघट (ग्यादरिङ) गरेको स्वीकार गर्दै सलिना राति कुन बेला झ्यालबाट तल खसेकी हुन् भन्ने आफूहरूलाई थाहा नभएको बताएका छन्।

प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ। शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदनपछि घटनाको कारणबारे थप स्पष्ट हुने र अनुसन्धान त्यसैअनुसार अघि बढाइने प्रहरीको भनाइ छ।