भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ४७ करोड : शिक्षा, सम्पदा संरक्षण र पूर्वाधारमा प्राथमिकता

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपप्रमुख रजनी जोशीले नगरसभाको १८औं अधिवेशनमा आइतबार बजेट प्रस्तुत गर्दै शिक्षा, सम्पदा संरक्षण, भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको जानकारी दिइन्।

मुख्य बजेट विवरण:

चालु खर्च: १ अर्ब ५२ करोड ५३ लाख (६१.६७%)

पूँजीगत खर्च: ८० करोड ४८ लाख (३२.५४%)

वित्तीय व्यवस्थापन: १४ करोड ३० लाख (५.७८%)

प्रमुख प्राथमिकता क्षेत्रहरू:

१. शिक्षा (५४ करोड ४ लाख)

नगरपालिकाले ख्वप विश्वविद्यालयको विकासदेखि सामुदायिक विद्यालयको स्तरोन्नति, अनुसन्धान सहयोग, छात्रवृत्ति, नेपालभाषा लगायत परम्परागत कलाको प्रवर्द्धनसम्मका गतिविधिमा बजेट विनियोजन गरेको छ।

२. स्वास्थ्य (१० करोड ३७ लाख)

ख्वप अस्पतालमा CT स्क्यान सेवा सुरु गर्ने तयारीसँगै वडा स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, निःशुल्क अक्सिजन तथा रगत वितरण, आयुर्वेद सेवा र स्कुले स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइनेछ।

३. सम्पदा र संस्कृति (१२ करोड ६८ लाख)

थन्थु दरबार, इखालाछी मठ, इन्द्रायणी द्योछें, दही विनायक मन्दिर लगायत सम्पदाको पुनर्निर्माणको लागि ठूला योजनाहरू अघि सारिएका छन्। संस्कृति र परम्परागत कलाको संरक्षणलाई समेत विशेष प्राथमिकता दिइएको छ।

४. भौतिक पूर्वाधार (४८ करोड २० लाख)

अरनिको सभाभवन, बहुउद्देश्यीय भवन, पार्किङ, आवास योजनाको सडक निर्माण, हनुमन्ते र कासन खोलाको करिडोर विकासलगायतका योजनाहरू बजेटमा समावेश छन्।

५. सामाजिक सुरक्षा (३५ करोड ५० लाख)

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, क्यान्सर, मुटु तथा दीर्घरोगीहरूका लागि अनुदान तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थामा निरन्तरता दिइनेछ।

६. पर्यटन प्रवर्द्धन (४ करोड ९० लाख)

साँस्कृतिक पदयात्रा, सन्ध्याकालीन कार्यक्रम, पर्यटक सूचना केन्द्र तथा विद्युतीय सवारी साधनको व्यवस्था मार्फत भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा अझ सशक्त बनाइनेछ।

७. कृषि (३ करोड ८७ लाख)

कृषि अनुसन्धान केन्द्र, पशुवधशाला, शीत भण्डारण गृह, बीउबिजन, जैविक मल प्रवर्द्धन, कृषक परिचयपत्र वितरण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।

८. सरसफाइ तथा वातावरण (२० करोड २२ लाख)

खोलाको संरक्षण, हरियाली प्रवर्द्धन, पोखरी सौन्दर्यीकरण तथा फोहोर व्यवस्थापनमा बजेट छुट्याइएको छ।

९. खेलकुद (५ करोड)

खेलकुद प्रशिक्षण, अन्तरविद्यालय प्रतियोगिता, फुटसल मैदान, पौडी केन्द्र र व्यायामशाला निर्माणका कार्यक्रम अगाडि सारिएको छ।

१०. महिला तथा युवा कार्यक्रम (७५ लाख)

सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलता ऋण कार्यक्रम निरन्तरता दिने योजना छ।

राजस्व र श्रोत व्यवस्थापन

बजेट कार्यान्वयनको लागि आन्तरिक श्रोतबाट ६४ करोड ७१ लाख र बाँकी १ अर्ब ८२ करोडभन्दा बढी बाह्य श्रोतबाट संकलन गरिनेछ। श्रोतको सुनिश्चितता आवश्यक भएकाले नगरवासीलाई समयमा कर तिर्न उपप्रमुख जोशीले अपिल गरेकी छिन्।

बजेटमार्फत नगरवासीका आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न खोजिएको र योजनाहरूको प्रभावकारी कार्यान्वयनमा सबैको सहकार्य आवश्यक रहेको नगर प्रमुख सुनिल प्रजापतिले ननस्टपखबरसंग प्रतिक्रिया दिएका छन् ।

Bhaktapur nagarsabha
Bhaktapur nagarsabha

नगर सभाको मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा बजेटबारे छलफल भइ पारित हुने बताइएको छ ।