पद्म माविको १०२ औं वार्षिकोत्सव, भवन नबन्दा मन्त्रीलाई नै लाज

suresh Shrestha
suresh Shrestha

भक्तपुर । देशकै दोस्रो पुरानो विद्यालय भक्तपुर-३ स्थित श्री पद्म माध्यमिक विद्यालयले सोमबार आफ्नो १०२औँ वार्षिकोत्सव तथा कलेजको १६औँ स्थापना दिवस मनाएको छ ।

बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा विशेष समारोहसहित कार्यक्रम सम्पन्न भएको हो ।   

समारोहलाई सम्बोधन गर्दै सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मन्त्री श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन अझै निर्माण हुन नसक्नु सरकारी लाचारी रहेको टिप्पणी गरे ।

पूर्वविद्यार्थी अभियानमार्फत संरचना पुनर्निर्माणको प्रस्ताव

समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भूकम्पले क्षतिग्रस्त बनाएको विद्यालयको संरचना पुनर्निर्माणमा सरकार भन्दा पनि पूर्वविद्यार्थीको संयुक्त पहल आवश्यक रहेको उल्लेख गरे।

 “ विद्यालय पुनर्निर्माण गर्न नसक्नु मेरो लागि पनि लज्जाको कुरा हो,”
मन्त्री श्रेष्ठले भने ।

उनका अनुसार विद्यालयले एक शताब्दीको आफ्नो इतिहासमा हजारौँ विद्यार्थी उत्पादन गरेको भए पनि भौतिक संरचना अझै अभावग्रस्त हुनु दुःखद् छ । पूर्वविद्यार्थी अभियान चलाएर चन्दा सहयोगबाट भए पनि भवन बनाउने बेला भएको उनको भनाइ छ।

विद्यालयको गुणस्तर र व्यवस्थापनबारे आवाज

शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख कमला ज्ञवालीले विद्यालयको भूमिका शैक्षिक उपलब्धिसँगै सीप र संस्कार विकसित गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

पूर्व प्रधानाध्यापक रामगोपाल कर्माचार्यले शिक्षक–विद्यार्थी–अभिभावकको त्रिकोणात्मक सहकार्य नै विद्यालयको मुटु भएको बताए।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाबुराजा जोशीले पछिल्ला वर्षहरूमा गुणस्तर कमजोर भएको, स्थानीय तहले “नाम मात्रको अधिकार” पाएको र संघीय स्तरको हस्तक्षेपका कारण विद्यालय व्यवस्थापनमा समस्या देखिएको आरोप लगाए। उनले भवन निर्माणमा ढिलाइ हुनुमा भक्तपुर नगरपालिकाको कमजोरी रहेको दाबी गरे।

दीर्घ सेवा र विशेष सम्मान

समारोहमा विद्यालयलाई २० वर्षभन्दा बढी समय सेवा प्रदान गरेका शिक्षक ईश्वरकुमार घिमिरे, प्रशासन सहायक विरेन्द्र कर्माचार्यलाई दीर्घ सेवा पदक प्रदान गरियो।
त्यसैगरी समाजसेवी तथा पूर्व अध्यक्ष बाबुराजा जोशीलाई विद्यालयले विशेष सम्मान दियो।

विद्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक

विद्यालयका प्राचार्य राम हाडाले भौतिक, शैक्षिक, आर्थिक तथा वातावरणीय अवस्थासहित ७ पृष्ठ लामो वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
भवन निर्माण, बजेट व्यवस्थापन र खर्च विवरण पनि सार्वजनिक गरियो, जसअनुसार विद्यालयको खुद आम्दानी १ करोड र खुद खर्च १ करोड ७४ लाख रहेकाे छ।

shree padma school

विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई गौरवपूर्ण सम्मान

पद्म हाई स्कुलले जस्तै वर्ष यस वर्ष पनि विभिन्न स्मृति तथा छात्रवृत्ति कोषमार्फत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्‍यो। यहाँ केही प्रमुख पुरस्कार–छात्रवृत्तिहरू:

SEE उत्कृष्ट (२०८१)

मनिष पुर्कुटी — ३.८७ GPA
निरञ्जन नारायण धौभडेल स्मृति कोषबाट २५ हजार नगद + स्वर्ण पदक

सौगात खत्री — ३.५७ GPA (प्राविधिक: सिभिल इञ्जिनियरिङ्ग)
चन्द्रकेशरी प्रधानाङ्ग स्मृति छात्रवृत्ति — २० हजार

युवराज थापा (३.८३) र अरुणा तामाङ (३.८५)
जोशी स्मृति छात्रवृत्ति — जनही १५ हजार

Grade 12 उत्कृष्ट (२०८१/८२)

मालवी तामाङ — ३.४६ (प्राविधिक: सिभिल)
स्वर्ण पदक + छात्रवृत्ति

सन्तोष श्रेष्ठ — व्यवस्थापन (३.४२)

अनीता अधिकारी — मानविकी (३.१९)

रमिता तामाङ, स्मृति तामाङ — शिक्षा (३.११)

अन्य प्रमुख सम्मानहरू

लेखन, हस्तलेखन, भलिबल, निबन्ध, स्पेलिङ्ग कन्तेस्ट लगायतका विद्यालयस्तरीय प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पदक र प्रमाणपत्र वितरण।

स्वास्थ्य शिविर र सामाजिक सहयोग

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी विद्यालयले कार्तिक २८ मा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गर्‍यो।
धुलिखेल अस्पताल, नविल बैंक, र रातो बंगला स्कुलसहित विभिन्न संस्थालाई कदरपत्र प्रदान गरियो।

समारोहको अध्यक्षता र सञ्चालन

वार्षोत्सवको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं  तथा वडा–३ अध्यक्ष राजकृष्ण गोराले गरेका थिए । पद्म कलेजका प्राध्यापक योगेन्द्र अधिकारीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, समाजका प्रतिस्ठित ब्यक्तिहरु, शिक्षासेवी र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो । 

सो अवसरमा विद्यार्थीहरुले आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए ।