सकारात्मक ब्यवहारले दुर्घटना न्यूनीकरण हुने – मन्त्री गुप्ता

काठमाडौं। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरी र यातायात मजदुरबीच सकारात्मक व्यवहार र समन्वय कायम गर्न सके सडक दुर्घटना न्यूनीकरणमा उल्लेखनीय प्रगति सम्भव हुने बताएका छन्।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी र राष्ट्रिय युवा परिषद्‍द्वारा आयोजना गरिएको सडक दुर्घटना न्यूनीकरण सम्बन्धी स्वयंसेवक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले सरकार भौतिक पूर्वाधार सुधारमा द्रुत गतिले अघि बढिरहेको बताए।

“सचेतना मात्र हैन, अधुरा सडक संरचना निर्माण र सुधारमा सरकार तीव्र गतिमा अगाडि बढेको छ। यातायात क्षेत्रका समस्याहरू समाधानतर्फ सरकार प्रतिबद्ध छ,” मन्त्री गुप्ताले भने।

ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा

कार्यक्रममा उपस्थित ट्राफिक प्रहरी प्रमुख र अन्य वरिष्ठ अधिकृतहरूबीच मन्त्री गुप्ताले स्वयंसेवकहरूको योगदान प्रशंसनीय रहेको बताए।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले ट्राफिक प्रहरीको निरन्तर प्रयासले नागरिकको जीवन सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे।

नागरिकको लापरवाही दुर्घटनाको प्रमुख कारण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले स्वयंसेवक दिवस समाजप्रति उत्तरदायित्व बोध गराउने दिन भएको उल्लेख गर्दै सडक दुर्घटनाको प्रमुख कारण नागरिकको लापरवाही रहेको बताए।

उनी भन्छन्, “हाम्रो उद्देश्य दुर्घटनामुक्त समाज निर्माण हो। यसको लागि नागरिकको सक्रिय सहकार्य अनिवार्य छ।”

कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सड़क दुर्घटनाका तथ्यांक र सचेतनासम्बन्धी भिडियो प्रस्तुत गरेका थिए।

भौतिक पूर्वाधार जीर्ण, स्वयंसेवा आवश्यक

ट्राफिक प्रहरी प्रमुख अधिकारीले जीर्ण, साँघुरो तथा निर्माणाधीन सडकले दुर्घटना जोखिम बढाएको उल्लेख गर्दै आफ्नो संरचना पुनःस्थापनामा स्वयंसेवकको सहयोग महत्वपूर्ण रहेको बताए।
“हामी सबै सडक प्रयोगकर्ता हौं, त्यसैले जोखिमपूर्ण सडकमा अझ बढी संवेदनशीलता अपनाउन आवश्यक छ,” उनले आग्रह गरे।

यातायात व्यवसायीका माग

अतिरिक्त प्रहरी महानिरीक्षक ओमप्रकाश अर्याल, स्वतन्त्र यातायात मजदुर संघका अध्यक्ष भीम ज्वाला, नेपाल यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज सिटौलालगायतका वक्ताहरूले सार्वजनिक यातायात क्षेत्रमा बढ्दो चुनौतीबारे ध्यानाकर्षण गराए।

सिटौलाले लागुऔषध तथा मादक पदार्थ सेवन परीक्षण राति मात्र नभई दिउँसो पनि कडाइका साथ गर्नुपर्ने सुझाव दिए।
यातायात मजदुर र प्रयोगकर्ताका लागि सार्वजनिक शौचालय तथा रिफ्रेसमेन्ट सेन्टर निर्माणका माग पनि राखियो।

सयौं स्वयंसेवक सहभागिता

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का ६० स्वयंसेवक तथा सार्वजनिक यातायात क्षेत्रका ३ सय भन्दा बढी स्वयंसेवकको सहभागिता रहेको थियो ।