भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान !

भक्तपुर । भक्तपुरको पुरानो बाटोमा सवारी कुदाउँदै हुनुहुन्छ भने सावधान ! साउन यता ७ महिनामै यो सडकमा सवारी दुर्घटनाको संख्या १ सय ६० पुगेको छ । सल्लाघारी-पुरानोथिमि, सानोठिमी- मनोहरा सडकमा मात्रै साउन यता १ सय ६० वटा सवारी दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले यो सडक खण्डमा दुर्घटना न्यूनीकरण गर्न तीब्र गति नियन्त्रणको प्रयास थालनी गरेको छ । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले यो सडक खण्डमा ४० किमी प्रतिघण्टाको गति कायम गरिएको जानकारी गराए ।

निकोसेरा चोकदेखि मनोहरा पुलसम्म २० ठाउँमा गति सम्बन्धि जनचेतना एवं सूचनामूलक बोर्डहरु राखिएको उनले बताए । मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा यस्ता बोर्डहरु राखिएका बताइएको छ ।

”यो रुटमा प्रतिघण्टा ४० किमी भन्दा बढी गतिमा सवारी साधन चलाए कारबाही हुन्छ ।” प्रहरी निरीक्षक खत्रीले प्रष्ट पारे ।

नियमाअनुसार तिब्र गति हुने फराकिला सडकलाई ४० र बस्ती भित्र ३० प्रतिघण्टाको गति कायम गरिएको जानकारी गराउँदै उनले छ लेन सडक र अरनिको राजमार्गमा भने प्रति घण्टा ५० किमीको गति निर्धारण गरिएको बताए । ट्राफिक प्रहरीले स्पिड जाँच गर्ने मेसिन राडार गनको प्रयोग गरेर तीब्र गतिमा सवारी साधन चलाउनेलाई जतिबेला पनि कारवाही गर्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले नियमानुसार गरी कारवाही र दुर्घटनाबाट सुरक्षीत रहन आग्रह गरेको छ ।

ट्राफिक कार्यालयको यस्तो सचेतनामूलक बोर्ड र चेकजाँचले तीब्र गति नियन्त्रण तथा दूर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख माधव बुढाथोकीले बिश्वास व्यक्त गरे ।