ललितपुर । ललितपुरको नख्खु–भैसेपाटी क्षेत्रमा अवस्थित एक प्रमुख सुपर–स्पेसियालिटी अस्पताल नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ।
पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका छोरा २६ वर्षीय आयुष कार्कीले दान गरेपछि अस्पतालले सफलतापूर्वक प्रत्यारोपण गरेको हो । जेठ ८ गते सम्पन्न भएको शल्यक्रिया अस्पतालको इतिहासमा पहिलो सफल कलेजो प्रत्यारोपण आज अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
चिकित्सकका अनुसार कलेजो संसारकै जटिल शल्यक्रियामध्ये एक मानिन्छ। यसका लागि अनुभवी चिकित्सक, उच्च प्रविधि, लामो समयको तयारी र ठूलो संख्यामा विशेषज्ञहरूको टोली आवश्यक पर्छ। नेपाल मेडिसिटीले भारतको प्रसिद्ध अमृता अस्पतालसँग सहकार्य गर्दै बिरामीको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
कलेजो दाताको शल्यक्रिया करिब ९ घण्टा र कलेजो प्राप्तकर्ताको १३ घण्टा लागेर प्रत्यारोपण सम्पन्न भएको अस्पतालले जनाएको छ।
बिरामीका छोरा आयुष कार्कीका अनुसार उनीहरूले दुईपटक भारतमा परामर्श लिएका थिए। तर त्यहाँका डाक्टरहरूले एकैपटक कलेजो र मिर्गौला दुबै प्रत्यारोपण गर्नुपर्ने बताएपछि उनीहरू अन्योलमा परेका थिए।
“भारतमा उपचार सम्भव छैन भन्ने होइन, तर हामीलाई त्यहाँको परामर्श स्पष्ट लागेन। डाक्टरहरू कलेजो र मिर्गौला दुवै एकैचोटि प्रत्यारोपण गर्नुपर्ने भन्दै थिए, जसले हामीलाई झन् डर बनायो,” उनले भने।
परिवारले त्यसपछि नेपालमै उपचार सम्भव हुने अस्पताल खोज्न थालेको थियो। त्यसै क्रममा नेपाल मेडिसिटी पुगेपछि यहाँका चिकित्सकले सुरुमा कलेजो प्रत्यारोपण गरेर मिर्गौला सुधार हुन सक्छ भन्ने सम्भावनाबारे जानकारी गराएको आयुषले बताए। “हामीले यहाँको टिमसँग विस्तृत छलफल गरेर यहीं प्रत्यारोपण गर्ने निर्णय गरेका थियौं,” उनले भने।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोका अनुसार नेपालमै पहिलोपटक मेडिसिटीले सफल कलेजो प्रत्यारोपण गर्नु ठूलो उपलब्धि हो। “हामीले अस्पताल स्थापना गर्दा नै विदेश जानुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्य राखेका थियौं। अहिलेको सफलताले हाम्रो लक्ष्य सही दिशामा अघि बढेको पुष्टि गर्छ,” उनले भने।
ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभाग प्रमुख डा. उमिद कुमार श्रेष्ठका अनुसार बिरामीको स्वास्थ्य अवस्था अत्यन्त जटिल थियो। पेटमा पानी जम्ने, रगत वान्ता हुने, बेहोस हुने, होस गुम्नेजस्ता समस्या देखिएका बिरामीका कलेजो र मिर्गौला दुवै असफल भइसकेका थिए।
“बिरामी यसअघि नेपालका अन्य अस्पताल र दुईपटक भारतमा समेत गइसकेका थिए। तर, अवस्था जटिल भएकोले कोही अस्पतालले प्रत्यारोपणको जिम्मा लिन मानेन। मेडिसिटीमा भने चुनौती स्वीकार्दै सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।,” डा. श्रेष्ठले बताए।
शल्यक्रिया पश्चात बिरामीको मिर्गौलाको कार्यसमेत क्रमशः सुधार भइरहेको छ। कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहका अनुसार शल्यक्रिया अघि नै मिर्गौला बिग्रनुको मुख्य कारण कलेजो नै भएको अनुमान गरिएको थियो।
“हामीले बिरामी पक्षलाई जोखिमबारे सम्पूर्ण जानकारी दिएका थियौं। सुरुमा कलेजो प्रत्यारोपण गरेर मिर्गौलाको अवस्था हेर्ने योजना बनाएका थियौं। अहिले मिर्गौला पनि सुधारतर्फ देखिएको छ,” डा. साहले भने।
नेपालमा प्रत्येक वर्ष २०० देखि ३०० जनासम्म कलेजो प्रत्यारोपणको आवश्यकता देखिन्छ। तर यस्ता शल्यक्रिया अत्यन्त सीमित अस्पतालमा मात्र सम्भव छ। अधिकांश नेपालीहरू भारत, चीन, थाइल्यान्ड लगायत देशमा उपचारका लागि जान बाध्य छन्। भारतस्थित नेपाली दूतावास, नयाँ दिल्लीका अनुसार सन् २०२३ देखि २०२४ को अवधिमा ७० भन्दा बढी नेपालीले भारतमा कलेजो प्रत्यारोपण गराएका छन्।
डा. महत्तोका अनुसार नेपाल मेडिसिटी अस्पतालले यस्ता बिरामीहरूलाई स्वदेशमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसाथ सेवा विस्तार गरिरहेको छ। “विदेश जानु केवल आर्थिक खर्च मात्रै होइन, बिरामी र परिवारका लागि मानसिक र सामाजिक तनाव पनि हो। हामीले यही कुरा बुझेर नेपालमै यस्तो सेवा विकास गरेका हौं,” उनले भने।
अस्पतालका अनुसार यसअघि मेडिसिटीमा ४५ जनाको सफल मिर्गौला प्रत्यारोपण भइसकेको छ। यस्तै, ५०० जनाभन्दा बढीको हिप तथा जोर्नीको प्रत्यारोपण पनि सम्पन्न भइसकेको छ। हाल अस्पतालमा कलेजो प्रत्यारोपण सेवा स्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ।
यस सफलताले चिकित्सा क्षेत्रमा नेपाली चिकित्सकको क्षमतामा थप विश्वास दिलाएको छ। चिकित्सकहरूले अब कलेजो प्रत्यारोपणका लागि भारत निर्भरता कम गर्दै स्वदेशमै उपचार सम्भव भएको सन्देश दिएको बताएका छन्। साथै, यसले विदेशी मुद्राको ठूलो हिस्सा विदेश नपठाई स्वदेशमै रोक्न सकिने आशा समेत जगाएको छ।
नेपाल मेडिसिटीले आगामी दिनमा पनि जटिल अंग प्रत्यारोपण सेवाहरू सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। अस्पतालका कार्यकारी टोलीका अनुसार यस सफलताको मूल्यांकन गरी दीर्घकालीन रणनीतिमा मल्टिअर्गन ट्रान्सप्लान्ट युनिट स्थापना गर्ने योजना समेत बनाइएको छ।
नेपाल मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा नेपाली जनताका लागि सुलभ शुल्कमा उपलब्ध गराउने उद्देश्यसहित सेवा सञ्चालन गरिरहेको जनाएको छ। अस्पताल प्रशासनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने राष्ट्रिय लक्ष्यमा टेवा पुर्याउनेगरी आगामी दिनमा अझ बढी विशेषज्ञता र पूर्वाधार विस्तार गर्ने योजना बनाएको बताइएको छ।
