काठमाडौ । एअर इण्डिया विमान नम्बर AI-171 आज दिउँसो गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि भारत सरकारका गृहमन्त्री अमित शाह घटनास्थलमा पुगेर स्थिति अवलोकन गरेका छन्।
उनले उक्त दुर्घटनामा बाँचेका एकमात्र यात्रीसँग पनि कुराकानी गरेका छन्।
भारतीय सञ्चार माध्यम अमर उजालाले जनाए अनुसार घटनापछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शाहले भने, “यो घटना अत्यन्तै दुःखद र स्तब्ध पार्ने खालको छ।”
उनका अनुसार विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एक जनाको जीवित उद्धार भएको पुष्टि गरिएको छ।
उनले जानकारी दिएअनुसार मृतकहरूको संख्या डीएनए परीक्षण र पहिचान पश्चात् मात्रै आधिकारिकरूपमा सार्वजनिक गरिनेछ।
गृहमन्त्री शाहले थपे, “विमानमा सवा लाख लिटर इन्धन थियो, जसले गर्दा दुर्घटनापछि आगलागी भयानक भयो र अत्यधिक तापमानका कारण कसैलाई पनि बचाउने सम्भावना रहेन।”
उनले बताएकाअनुसार, घटनापछि तुरुन्तै गुजरात राज्य सरकारको आपतकालीन व्यवस्थापन टोली सक्रिय बनाइयो र उद्धार कार्य तीव्र रूपमा थालियो।
भारत सरकारका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाको जानकारी लिएका थिए र आवश्यक निर्देशन दिएका थिए।
अहिले उद्धार कार्य अन्तिम चरणमा पुगेको बताउँदै गृहमन्त्री शाहले भने, “जसका परिवारजन भारतमै छन्, उनीहरूको डीएनए परीक्षण दुई–तीन घण्टाभित्र सम्पन्न हुनेछ। विदेशी यात्रुका परिवारजनलाई समेत सूचना दिइसकिएको छ।”
अन्त्यमा गृहमन्त्रीले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै भारत सरकार, गुजरात सरकार र सम्पूर्ण देश पीडितहरूसँग एकजुट भएर उभिएको बताए।
(तस्बिर अमरउजालाबाट नै साभार गरिएको हो ।)