काठमाडौ । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा लन्डन बस्न हिडेका डाक्टर पतिपत्नी र उनीहरूका ३ छोराछोरी सहित पाँचै जनाको ज्यान गएको भारतीय समाचार पोर्टल अमरउजालाले जनाएको छ ।
समाचार अनुसार राजस्थानको बाँसवाडा जिल्लामा बसोबास गर्ने जोशी परिवारले लन्डनको नयाँ यात्रा सुरु गर्न लाग्दा एक दर्दनाक विमान दुर्घटनाले उनीहरूको जीवन समाप्त गरिदिएको हो ।
अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इण्डियाको विमान AI-171 टेकअफपछि केही मिनेटमै मेघाणी नगर क्षेत्रमा दुर्घटनाग्रस्त भयो, जसमा बाँसवाडाका डा. प्रतीक जोशी, उनकी पत्नी डा. कौमी जोशी र तिनका तीन सन्तान — मिराया, नकुल र प्रद्युतको मृत्यु भएको छ।
यो परिवार पछिल्लो दुई महिनादेखि बालबालिकाको भिसाको प्रतीक्षामा बाँसवाडामै थियो। जस्तै भिसा स्वीकृत भयो, उनीहरूले विदेशको नयाँ जीवनका लागि यात्रा थालेका थिए। टेकअफको केही समयअघि उनीहरूले विमानभित्र एक खुसीले भरिएको सेल्फी पनि खिचेका थिए, जुन अब तिनको अन्तिम तस्वीर बनिसकेको छ।
बाँसवाडामा शोकको लहर
डाक्टर प्रतीकका बुवा डा. जेपी जोशी बाँसवाडामा सोनोग्राफी सेन्टर चलाउँछन् भने आमा पनि सेवानिवृत्त चिकित्सक हुन्। डा. कौमीका पिता सार्वजनिक निर्माण विभागका पूर्व इन्जिनियर हुन्, जो अहिले वैवाहिक वाटिकाको सञ्चालन गर्छन्। दुर्घटनाको समय उनीहरू अहमदाबादमै थिए, जहाँ उनीहरू आफ्ना सन्तान र नातिनातिनीलाई बिदा गर्न गएका थिए।
सपना र विश्वासको यात्रा, जो अधूरो रह्यो
डा. प्रतीक उदयपुरस्थित पेसिफिक मेडिकल कलेजमा कार्यरत थिए र हालसालै उनले पदबाट राजीनामा दिएका थिए। उनी लन्डनस्थित एक चिकित्सकीय संस्थामा आबद्ध हुने तयारीमा थिए। पेसिफिक अस्पतालका चेयरम्यान डा. आशीष अग्रवालका अनुसार, डा. कौमी दुर्घटनाभन्दा दुई दिनअगाडि अस्पताल गएकी थिइन् र सम्पूर्ण स्टाफसँग बिदाइ लिएकी थिइन्। उनका अनुहारमा उत्साह र नयाँ जीवन सुरु गर्ने उमंग देखिन्थ्यो।
एक परिवार, एक सपना, एक त्रासदी
विमानमा २४२ यात्रु सवार थिए, जसमा यो पाँच सदस्यीय परिवारको मृत्युले सबैलाई स्तब्ध तुल्याएको छ। जोशी दम्पतीको नम्र स्वभाव, पेशागत इमानदारी र पारिवारिक स्नेहका अनेक स्मृतिहरू बाँसवाडाको हृदयमा सधैँ अमिट रहनेछ।
विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए। तीमध्ये एक जनाको जीवित उद्धार भएको पुष्टि गरिएको छ। बच्न सफल ब्यक्ति रमेश विश्वासकुमार हुन् । ब्रीटिस भारतीय नागरिक उनी उछिट्टिएर भाग्यवस बच्न सफल भएका र उनको उपचार भैरहेको प्रहरीको भनाइ छ ।
(भारतीय समाचार पोर्टल अमरउजालाको सहयोगमा तयार पारिएको रिपोर्ट)