ललितपुर । भदौ २४ गतेको जेड जेड आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी)को भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ।
स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनर्निर्माण समितिले पुनर्निर्माण सम्पन्न गरी मंगलबार औपचारिक कार्यक्रममार्फत प्रहरीलाई भवनका संरचना हस्तान्तरण गर्यो।
पुनर्निर्माण समिति संयोजक सुमन महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्यीय समितिले दुई सय जना स्थानीय, व्यवसायी, संघसंस्था र समाजसेवीबाट स्वस्फूर्त रूपमा प्राप्त ४९ लाख ५४ हजार ६८ रुपैयाँको सहयोगबाट पुनर्निर्माण सम्पन्न गरियो।
पुनर्निर्माण सम्पन्न भएको भवनको समुद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले राम्रा र असल मानिसहरूको मौनताले खराब मानिसले प्रसय पाउँछ भन्दै शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिको रूपमा काम गर्न भवन पुनर्निर्माणमा सहयोग गर्ने स्थानीयको प्रयासको प्रशंसा गरे।
उनले भने, “अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो। आन्दोलनमा धेरै क्षति भएको थियो र छ। देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो। यसका लागि सबै मिलेर सहकार्यमा काम गर्न आवश्यक छ।”
कार्कीले सार्वजनिक सम्पत्तिको क्षति दुःखद भएको बताउँदै क्षति पुर्याउनेलाई कानूनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिए। उनले भने, “यो केवल भवन मात्रै होइन, राज्यको प्रत्याभूति दिने एउटा स्थान हो। शान्तिपूर्ण र सभ्य समाज निर्माणको महत्त्वपूर्ण थलो हो। यहाँबाट प्रहरीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। प्रहरीको तालिम र क्षमता अभिवृद्धिमा राज्यले लगानी बढाउनुपर्छ। प्रहरीले नागरिकको सोच, चाहना र इच्छा अनुसार सेवा प्रवाहमा ध्यान दिनुपर्छ।”
उनले नागरिक र प्रहरी मिलेर सीमित संख्यामा रहेका आपराधिक गतिविधि गर्नेहरूलाई कानूनी दायरामा ल्याई शान्तिप्रिय व्यक्तिहरूको सुरक्षा गर्दै शान्तिपूर्ण समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिए।
प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले दुःखद घटनाबाट बिस्थापित भएको प्रहरी प्रभाग पुनःस्थापित गर्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे। उनले प्रहरीका अधिकारी र कर्मचारीहरू समयसमयमा परिवर्तन भए पनि संरचना स्थायी हुने बताउँदै यो स्थानीयहरूको सम्पत्ति भएकोले संरक्षणका लागि आग्रह गरे। साथै, आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नलाई खोजी गरी कानूनी कारबाही अघि बढाउने बताए।
२४ गतेको आन्दोलनमा पुलचोक र हरिसिद्धिबाट केही हतियार लुटिएको र ती अझैसम्म बरामद नभएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिए। आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो।
भदौ २४ गतेको आन्दोलनबाट प्रभागमा कार्यरत प्रहरीका लत्ताकपडाहरू लुटिएको कारण नेपाल महिला संघकी केन्द्रीय सदस्य निरु खड्काले प्रहरीलाई ५४ सेट ट्रयाकसुटलगायतका सामग्री हस्तान्तरण गरिन्।
ललितपुर महानगरपालिका वडा नं. १८ का अध्यक्ष दामोदर खड्का, वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जन, वडा नं. २२ का अध्यक्ष सागर तुलाधर, वडा नं. २५ का अध्यक्ष दौलतकुमार खत्री, प्रगति युवा क्लब तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको सहयोग, समन्वय र सहकार्यले छिटो रूपमा पुनर्निर्माण कार्य सम्पन्न भएको प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी दिए।







